Logo

अधिकार र पहिचानको आन्दोलनलाई अपराधीकरण गरेर मधेश आन्दोलनलाई सरकारले अपमानित गर्‍योः राजेन्द्र महतो



काठमाडौं,१० पुस । सत्तारुढ दल लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेश आन्दोलनलाई सरकारले अपमानित गरेका आरोप लगाएका छन् ।

सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पहिचान र अधिकारको आन्दोलनलाई सरकारले अपराधीकरण गर्न खाजेको आरोपसमेत लगाएका छन् ।

उनले भने,‘आन्दोलनकारीलाई जन्मकैदको सजायको दाबी प्रहरीले गर्‍यो र अदालतले सजाय सुनाइदियो । प्रहरी भनेको सरकार नै हो । त्यसैले मधेश आन्दोलनलाई सरकारले अपमानित गरेको छ । अधिकार र पहिचानको आन्दोलनलाई अपराधीकरण गरिएको छ ।’

अदालतले मधेश आन्दोलनकारीलाई जन्मकैदको फैसला सुनाए पनि मधेश केन्द्रित दलहरू सरकारमै छन् । यस सन्दर्भमा नेता महतोले सरकारमा रहेका चार मधेशी दल लोसपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तत्कालै सरकार छाड्नुपर्ने बताए ।

‘सात दलीय मोर्चाको आह्वानमा मधेश आन्दोलन भएको थियो’,नेता महतोले भने, ‘यदि आन्दोलनकारी अपराधी भयो भने आन्दोलनको आह्वान गर्नेहरू त मुख्य अपराधी भयो नि ! र,अपराधी बनाउने काम सरकारबाटै भयो । त्यसैले चारै मधेशी दल सरकारमा बस्नुको औचित्य छैन ।’

२०७२ को भदौमा भएको मधेश आन्दोलनको क्रममा महोत्तरीमा सशस्त्र प्रहरीका असई थमन विकको अहत्या भएको थियो । आन्दोलनकारीबाट गोली लागेर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट थुतेर उनको हत्या भएको थियो ।

उक्त नृसंस हत्यामा संलग्न रहेको आरोपमा २८ जनाविरुद्ध मुद्दा दाय भएकोमा लोसपा मधेश प्रदेशका सांसद तथा संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको सजाय सुनाइएको थियो । उक्त प्रकरणमा संलग्न रहेको आरोप लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्