काठमाडौं, १० पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री पुष्पकमल दाहाल गिरिजाप्रसाद कोइरालापछिको सफल रणनीतिकारको रुपमा देखिएको टिप्पणी गरेका छन् । उनले संसद्मा ३२ सिटसहित तेस्रो दल हुँदापनि सरकारको नेतृत्वमा पुग्नु र एक वर्ष टिक्नु नै प्रचण्डको लागि सफलता भएको दाबी गरे ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा आयोजना गरेको सरकारका सफलता तथा असफलताबारेको समिक्षात्मक साक्षात्कारमा बोल्दै उनले भने,‘यो एक वर्षमा सरकारको समिक्षा भन्ने कुरा, प्रधानमन्त्रीले एक वर्षको प्रगति विवरण सुनाउने भयो, खासगरी सरकारको त पाँच वर्षको योजना हुन्छ । टार्गेट खडा गरिएको हुन्छ । बरु, त्यसको मध्यावधि समिक्षा हुन्छ त्यो पनि अढाई वर्षमा हुन्छ । अहिले एक वर्षको बारेमा बोल्दाखेरि सबभन्दा पहिलो कुरा प्रधानमन्त्री प्रचण्ड सफल हुनुमा अहिलेसम्म प्रधानमन्त्री रहिरहनु हो । ३२ सिट भएर पनि उहाँले एमाले र कांग्रेसकै केन्द्रविन्दुमा रहेर काम गर्नु नै सफलता हो । उहाँ कुशलत रणनीतिकार हो । गिरिजाबाबुपछि राजनीतिमा चतुर्याई र छलछाम गरेर काम गर्ने प्रचण्ड नै हो ।’
उनले कांग्रेस पहिलो र एमाले दोस्रो दलको रुपमा रहँदापनि प्रचण्डले तेस्रो दलको रुपमा आफूलाई राजनीतिको केन्द्रविन्दुमा राख्न सक्नु सफलताको चित्रण गरे । उनले भने,‘अहिले प्रचण्डजी नेपालको राजनीतिको केन्द्रविन्दुमा हुनुहुन्छ । प्रचण्डको आशय र उद्देश्य राम्रो छ । १० वर्षको जनयुद्धपछि मुलुकलाई शान्तिको बाटोमा ल्याउनको लागि गिरिजाबाबुले पहल गर्नुभयो ।’ प्रधानले माओवादीलाई मूलधारको राजनीति र शान्ति प्रक्रियामा ल्याउनको लागि भारतको दिल्लीमा गिरिजाबाबुले बाबुराम र प्रचण्डसँग भेटेका कुरा पनि स्मरण गराएका थिए।
प्रचण्ड सरकारको एक वर्षको मुल्यांकन गर्दा आफूले प्रधानमन्त्री प्रचण्डमा अहिलेको व्यवस्थाबारे चिन्ता देखेको सुनाए । उनले भने,‘प्रचण्डजीमा ठूलो चिन्ता छ । कतै यो व्यवस्था खतरामा पर्छ कि भनेर, एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ छोड्नुको कारण पनि त्यही हो । केपी ओलीले दुई दुई पटक संसद् विघटन गर्नुभयो । पछि उहाँले संसद् विघटनको बचाउ गर्नुभयो । अहिले कांग्रेस सरकारमा रहनुको प्रम्ुख कारण प्रचण्ड हो ।’
नेता प्रधानले अहिले नेपाली राजनीतिमा महाभारतजस्तो देखिएको टिप्पणी । ‘कतै यो संविधान नै डिरेल होला कि भनेर प्रचण्डमा चिन्ता छ’–उनले भने,‘तर, केही गरौं भन्ने कुरा प्रचण्डमा छ । उहाँले राम्रो प्रयास गर्नुभएको छ । प्रयास कार्यान्वयन गर्ने कुरामा प्रचण्ड सफल देखिनुभएको छैन् । भुटानी शरणार्थी प्रकरणमा पार्टीका शीर्ष नेताहरु जेलमा राखेको अवस्था छ । सुन काण्डमा प्रचण्ड सरकार सफल भएको छ । भुटानी शरणार्थी प्रकरणमा पनि प्रचण्डले प्रयास गरेकै हो । एनसेल काण्डपनि आएको छ । अहिले युवाहरु आक्रान्त छन् । नागरिकता लिन पनि दुःख छ । अब सुदृढ सरकार दिनुपर्छ । सुशासनको सरकार दिनुपर्छ । प्रचण्डको खास काम गर्ने सो छ । उहाँ एउटा रफ्तारमा हुनुहुन्छ । केही गरौं भन्ने हुटुहुटी छ । कांग्रेसले असहयोग गरेको पनि छैन् ।’
उनले मन्त्रिमण्डल भनेको आलोपालोजस्तो रहेको सुनाए । उनले भने,‘आफ्नो दुहुनो सोझ्याउने कुरा रहेछ । प्रचण्ड र गिरिजाबाबु एकै सिक्काका दुई पाटा हुन । अब त्रिभुवन विश्वविद्यालयमा भिसी बनाउने कुरा पनि आयो । मैले त प्रधानमन्त्रीलाई नै कलेजको कार्यक्रममा बोलाएर अब पार्टीको झण्डा लिएर विश्विद्यालयमा बस्ने कुरा हटाउनुपर्छ भनेको थिएँ । पार्टीको झण्डा लिएर चलाउन दिनुहुन्न भनेको हुँ । अब त्यसमा उहाँले हुन्छ भन्नुभएको थियो । उहाँले आफ्नो नाम कमाएर जानसक्ने अवस्था रहन्छ, यदि बोलेअनुसार काम गर्नुपर्छ ।’
उनले आफूले प्रधानमन्त्री प्रचण्डलाई यो एक वर्षको कामको समिक्षा गर्दा असफल भन्न नसक्ने बताए । उनले भने,‘यो एक वर्षको काम हेर्दा म उहाँलाई असफल भन्दिनँ । काम सन्तोषजनक छ । संसारभरि नेपाललाई प्रचण्डले चिनाउनुभयो । युएनका महासचिवलाई नेपाल ल्याउनुभयो । कोप–२८ मा जानुभयो र नेपालको मुद्दा जोडदार रुपमा उठाउनुभयो । अहिले वातावरणको विषयमा सरकार एकदमै सफल भयो । वैदेशिक नीति सन्तुलित छ । भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुभएको छ ।’