काठमाडौं,१२ पुस । नेपाल राष्ट्रय बैंकका गभर्नर महाप्रसाद अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
बिहीबार अधिवक्तात्रय दीपकराज जोशी,दामोदर तिमिल्सिना,चुडामणि भट्टराईले गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका हुन् । उनीहरुको रिटको पेशी भोलिका लागि तोकिएको छ ।
गभर्नर अधिकारीको नियुक्तिविरुद्ध यसअघि पनि अदालतमा रिट परेको थियो । तर, सो रिट सर्वोच्चले दरपिठ गरेको थियो । रिटमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । तर, गर्भनर अधिकारीको योग्यता ऐन बमोजिमको नभएको हुँदा उक्त पदको लागि योग्य नहुने भन्दै उनको नियुक्ति बदरको माग गरेका छन् । गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्र रहेको र त्यो स्नातकोत्तर वा सो सरह नभएको दाबी रिटमा गरिएको छ ।
‘गभर्नर अधिकारीले स्नातकोत्तर उपाधि कुन कलेजबाट लिएको हो वा उहाँको चार्टड एकाउन्टेन्टभन्दा फरक अन्य कुन योग्यता हासिल गर्नु भएको छ सो को जानकारी बायोडाटामा उल्लेख गर्नु भएको छैन् । यसको मतलब उहाँको स्नातकोत्तरको योग्यता छैन भन्ने यसै कुराबाट प्रमाणित भइरहेको देखिन्छ,’ रिटमा भनिएको छ ।
अधिकारी २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए । उनको नियुक्तिलाई लिएर यसअघि पनि विभिन्न प्रश्नहरु उठ्दै आएको छ ।