काठमाडौं,१२ पुस । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गर्ने निर्णयको कागजात माग गरेको छ ।
सिहंदरबारमा आज बसेको समितिको बैठकले पुनलाई नियुक्त गर्ने निर्णयको कागजात तीन दिनभित्र उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो ।
केहि दिनअघि पुन पशुपतिको कार्यकारी निर्देशक नियुक्त भएकबी थिइन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी पुन क्रिश्चियन धर्म मान्ने रहेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुँदै आएको छ ।
आजको बैठकमा पनि विभिन्न सांसदहरुले उनको नियुक्तिलाई लिएर प्रश्न उठाएका थिए । माओवादी केन्द्रका सांसदले भने उनको बचाउ गरेका थिए । समितिमा सांसदहरू एकनाथ ढकाल, शिशिर खनाल, धवल शमशेर राणा लगायतका सांसदले पुनको नियुक्तिमा मापदण्ड नपुगेको विषय उठाएका थिए ।
तस्विरहरु मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल डटकम