काठमाडौं, १२ पुष । क्रान्तिकारी युवा संगठन नेपाल (मोहन बैद्य किरणनिकट) ले विभिन्न २० बुँदे माग अघि सारेको छ । संगठनले सबै तहका जनप्रतिनिधिहरुको सम्पूर्ण प्रकारको तलब, भक्ता तत्काल खारेज गर्नुपर्नेदेखि २०४६ सालपछिका सुरक्षा प्रमुख, संस्थान प्रमुख, संवैधानिक आयोग प्रमुख, प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री, मुख्यमन्त्री, सभामुख, गभर्नर, मुख्यसचिव, सचिवलगायतका सम्पूर्ण उच्चपदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्नेसम्म रहेका छन् ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले आफ्नो तर्फबाट प्रधानमन्त्रीलाई बुझाएका मागबारे सार्वजनिक गराएको हो । संगठनले अघि सारेका मागहरुमा स्वास्थ्य क्षेत्रमाथिको व्यापारीकरण बन्द गरिनुपर्ने र पहिलो चरणमा ५० वर्षमाथिका सबै नागरिकहरुको निःशुल्क उपचार घोषणा गरिनुपर्ने रहेका छन् । यस्तै, अन्य मागहरुमा सम्पूर्ण कृषिजन्य आयात बन्द गरिनुपर्नेपनि रहेको छ ।
एनसेलको कर छली नागरिकस्तरबाट छानबिन समिति निर्माण गरी छानबिन गरिनुपर्ने र साथै उक्त कम्पनी तत्काल राष्ट्रियकरण गरिनुपर्ने पनि रहेको छ । यस्तै, सम्पूर्ण निकायमा भएका राजनीतिक नियुक्ती तथा करार नियुक्तीहरु तत्काल खारेज गरिनुपर्ने पनि संगठनको माग छ ।
संगठनका अध्यक्ष हरिश भट्टले विभिन्न सरकारी कार्यालय र सरकारी अड्डाहरुमा देखिने विचौलिया नियन्त्रण गरिनुपर्ने र यातायात राजश्वमा लाग्दै गरेको शतप्रतिशत जरिवाना तत्काल खारेज गरिनुपर्ने पनि माग गरे ।
उनले देश, जनता र राष्ट्रियताका सवालमा आफ्नो संगठन गम्भीर रहेको सुनाए । उनले आफूहरुले जनजीविकाका सवालमा प्रत्यक्ष जोडिएका मागहरु उठाएको भन्द्यै सरकार जिम्मेवार बन्नेछ भन्ने विश्वास लिएको पनि सुनाए । आफूहरुले माग पेश गरेको १० दिनभित्र पूरा नभए र सरकारबाट ढिलासुस्ती वा मागहरुप्रति नजरअन्दाज गरिएमा संघर्षमा होमिन बाध्य हुने चेतावनी पनि दिएका छन् । संगठनले २० बुँदे माग प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गरेर सार्वजनिक गरेको छ ।
यस्तो छ विज्ञप्ती