Logo

संघीय सरकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौंडामा भेला



काठमाडौं,१३ पुस । संघीय सरकारले अधिकारमाथि हस्क्षेप गरेको आरोप लगाउँदै संघर्षमा उत्रिएका सातै प्रदेशका मुख्यमन्त्रीहरु हेटौंडामा भेला भएका छन् ।

बिहीबारबाट सुरु भएको अन्तरप्रदेश मन्त्रिपरिषद्को भेलामा सहभागी हुन उनीहरु बागमती प्रदेशको राजधानी हेटौंडामा भेला भएका हुन् ।

हेटौंडामा भेला भएका सातै प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारविरुद्ध थप रणनीति तय गर्ने बताएका छन् ।

यसअघि मुख्यमन्त्रीहरुको भेला गण्डकी प्रदेशको राजधानी पोखरामा गत चैतमा सम्पन्न भएको थियो । पछिल्लो समय संघीय सरकारविरुद्ध सातै प्रदेशका सरकारहरु आन्दोलित बनिरहेका छन् । उनीहरुले संविधानले व्यवस्था गरेका अधिकारहरु केन्द्र सरकारले नदिएको गुनासो गर्दै आएका छन् ।

हेटौंडा भेलामा सातै प्रदेशका मुख्यमन्त्रीहरु क्रमश कोशीका केदार कार्की, मधेशबाट सरोजकुमार यादव, बागमतीका शालिकराम जम्मकट्टेल, गण्डकीका सुरेन्द्रराज आचार्य, लुम्बिनीका डिल्लीराम चौधरी, कर्णालीका राजकुमार शर्मा र सुदूरपश्चिमबाट कमलबहादुर शाह जम्मा भएका छन् ।

संघीयता कार्यान्वयनमा देखिएका अस्पष्टता र दोहोरोपन हटाउनुपर्ने, तीन तहका साझा सूचीमा रहेका अधिकारसम्बन्धी कानुन निर्माणमा सहकार्य गर्नेुपर्नेजस्ता विषयमा दबाब दिने उद्देश्यले मुख्यमन्त्रीहरू भेला भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्