काठमाडौं, १४ पुष । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले मुलुकमा कांग्रेस भन्ने पार्टी छैन भनेर कल्पना गरियो भने पनि मुलुक कुनै न कुनै गृहयुद्धमा पर्ने दाबी गरेका छन् । उनले भने,‘कांग्रेसको नेतृत्वमा संविधान जारी भयो । हामीले आन्दोलनको नेतृत्व गर्ने योग्यता राख्यौं । अहिले नेपाली कांग्रेस छैन भनेर कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयद्धमा पर्छ पर्छ, की धार्मिक पर्छ, की जातीय पर्छ । कुनै न कुनै अतिवादमा नेपाल गाँजिन्छ, गाँजिन्छ । कांग्रेसको चरित्र हो त्यो । त्यहाँ कांग्रेसको योग्यता कसैले भन्नैपर्दैन् । आँफै प्रमाणित छ ।’ तर, कांग्रेसले सरकार चलाउने कुरामा योग्यता नराखेको उनको स्विकारोक्ति छ ।
उनले अहिले तीनै तहमा पार्टी सरकारमा रहेको बेलामा पनि पार्टीका साथीहरुमा चरम निराशा छाएको टिप्पणी गरेका छन् । ०७४ मा जताततै कम्युनिष्ट हुँदापनि अहिलेकोजस्तो निराशा पार्टी पँक्तिमा नभएको थापाले स्मरण गराए ।
आज (शनिबार) भक्तपुर कांग्रेसको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले भने,‘हामी जताततै सरकारमा छौं । मुख्यमन्त्री छौं, मन्त्री छौं, सांसदपनि छौं । तर, जताततै समस्या छ भन्ने कुरा छ ।’ अहिले पार्टीमा ८ लाख ७० हजार क्रियाशिल सदस्य रहेको सुनाउँदै पार्टी पँक्ति ठूलो रहेको भएपनि उर्जा नभएको गुनासो आएको बताए । अहिले पार्टीमा एक अर्काविरुद्ध लड्ने काम भएको उनको गुनासो छ ।
थापाले अब कांग्रेसले चुनाव हारेर धुलो चाट्नुपरेपनि चुनावभन्दा अघि गठबन्धन नगर्ने भनेर महासमितिको बैठकबाट निर्णय लिनुपर्ने धारणा राखे । उनले कांग्रेसको एक सिकाका दुई पाटा रहेको सुनाए । कांग्रेसको एउटा पाटो सरकारी कांग्रेस भएको र त्यसमा दाग लागेको थापाको टिप्पणी छ । file photo