काठमाडौं, १५ पुस । नेपाली कांग्रेसका नेता एवं प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले अहिलेको सत्ता गठबन्धन नभत्किँदासम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री रहने बताएका छन् ।
आज (आइतबार) पार्टी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन नभत्किँदासम्म र गठबन्धनले गरेको सहमति पूरा नहुँदासम्म प्रचण्डनै प्रधानमन्त्री रहने बताएका हुन् ।
महामन्त्री गगन कुमार थापाले कांग्रेसले चाहेको दिन सरकार ढालिदिने भनेर एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले लोकतन्त्रमा कांग्रेसका महामन्त्री थापाले मात्रै नभएर आम नागरिकले सरकार ढालिदिन्छु भनिनै रहने टिप्पणी गरे ।
‘हाम्रो महामन्त्रीज्यूले मात्रै होईन, आम नागरिकले पनि सरकार ढालिदिन सक्छु भनिनै रहेको हुन्छ लोकतन्त्रमा । कुन दलको बहुमत छ वा छैन भनेर भन्दा पनि अहिलेको प्रधानमन्त्री चाहीँ गठबन्धनबाट बन्नुभएको प्रधानमन्त्री भएको हुनाले गठबन्धन नभत्किँदासम्म र गठबन्धनले गरेको सहमति पूरा नहुँदासम्म प्रधानमन्त्री उहाँनै हो,’– उनले भने । File Photo/RN