Logo

लुम्बिनीका मुख्यमन्त्री चौधरीको कार्यशैलीप्रति कांग्रेसनै असन्तुष्ट



काठमाडौं, १७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको कार्य शैलीप्रति कांग्रेसले असन्तुष्टि जनाएको छ । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मुख्यमन्त्री चौधरीले पार्टीको नीति, विधि, पद्धती र जनतामाझ गरेका वाचा विपरीत काम गरिरहेको बताए ।

‘डिल्ली चौधरीसँग ब्यक्तिगत रुपमा मेरो केही असहमति छैन । नीतिगत रुपमा जुन शैलीमा काम गरिरहनु भएको छ, त्यो कामप्रति हामी कांग्रेसको, लुम्बिनी प्रदेशका सिनियर नेता र संस्थागत रुपमा लुम्बिनी प्रदेशका कांग्रेसको पनि असहमति होला ।’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘उहाँ सच्चिएर जान पर्यो । सरकार कांग्रेसको नीति, विधि र पद्धति, हामीले हिजो जनताका बीचमा गरेका प्रतिवद्धता, हाम्रा घोषणापत्रलाई टेकेर अगाडि बढ्न पर्यो ।’

उनले आफ्नै पहलमा चौधरीलाई सर्वसम्मत लुम्बिनी प्रदेश संसदीय दलको नेता बनाएको स्मरण गराउँदै सच्चिएर जानुपर्ने आवश्कता औंल्याए । प्रदेश सरकार कामकाजी हुनुपर्ने उनको भनाइ छ ।

‘हामी उहाँको कार्यशैलीमा असहमत छौं । प्रदेशप्रति दिनप्रतिदिन प्रश्न चिन्ह खडा हुँदैछन् । संघीयताविरुद्धामा विद्रोहको स्थिति देखा परेको छ । त्यसलाई समाधान गर्न प्रदेश सरकार कामकाजी हुनुपर्यो । प्रदेशलाई राम्रोसँग चलाउने गरी अगाडि बढ्नुपर्यो,’– उनले भने ।

चौधरी अहिले कांग्रेसको मात्रै नभएर सिंगो प्रदेशकै मुख्यमन्त्री भएको बताउँदै उनले कांग्रेसको नीति, सिद्धान्त, घोषणापत्र र प्रतिवद्धतालाई पनि भुल्न नहुने बताए ।

‘उहाँ सिंगो लुम्बिनी प्रदेशको मुख्यमन्त्री हो । तर, यसको मतलब कांग्रेसको कुरै नमान्ने, कांग्रेसका हिजोको घोषणापत्र, प्रतिवद्धता र कांग्रेसको सिद्धान्तनै नमान्ने होईन होला । हाम्रो विधान र संसदीय व्यवस्थाअनुसार जानुपर्ला नि ?’ उनले प्रश्न गरे ।

साथै, भर्खरै मन्त्रिपरिषद् विस्तार गर्दा पनि पार्टीसँग समन्वय नगरिएको उनको आरोप छ । लुम्बिनीमा कांग्रेसको तर्फबाट रोज राणा मन्त्री बनेका थिए । उनलाई मन्त्री नियुक्त गरिएको विषयलाई लिएर कांग्रेसमा सर्वत्र आलोचना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्