काठमाडौं, १८ पुष । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री दिनानाथ शर्माले नेपाल र भारतबीचको सम्बन्ध युगौंदेखि सुमधुर र राम्रो रहेको बताएका छन् । उनले भने,‘दुई देशबीच युगौंदेखि राम्रो सम्बन्ध छ । हामीबीच केवल कुटनीतिमात्रै नभएर जनस्तरमा पनि राम्रो सम्बन्ध छ । आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध छ । दुई देशको सम्बन्धलाई सुदृढ गर्न उच्चस्तरीय भ्रमण आदानप्रदान भैरहेका छन् । राज्यको तर्फबाट प्रतिनिधिहरु जाने, आपसमा बदलिँदो परिवेशअनुसार छलफल गर्ने र दुई देशबीचको हितमा केन्द्रित भएर विश्वासको वातावरण सिर्जना गर्ने काम भएको छ । यो राम्रो हो ।’
भारतीय विदेशमन्त्री डा. एस जयशंकरको नेपाल भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष–साक्षात्कारमा बोल्दै उनले भारतीय विदेशमन्त्री जयशंकर नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका सम्झौता कार्यान्वयन जोड दिने बताए ।
उनले भने,‘भारतीय विदेशमन्त्री आउँदै हुनुहुन्छ, यो भ्रमणले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा भएका सहमतिहरुलाई कार्यान्वयन गराउने वातावरण बनाउनेछ । नेपालको आर्थिक हितको लागि सहयोग पुर्याउनेछ । पावर ट्रेडलाई मूर्त रुप दिने काम गर्नेछ । दुई देशबीचको व्यापार घाटालाई सन्तुलन कायम गर्नको लागि यसप्रकारको भ्रमणले महत्वपूर्ण योगदान दिनेछन भन्ने विश्वास राख्नुपर्छ । त्यस्तै, चिनियाँ प्रतिनिधिमण्डलपनि यहाँ आउँदैछ । भ्रमणको क्रममा कतिपय सम्झौता भएका छन्, ती विषयपनि सरकारको तर्फबाट महत्वपूर्ण रुपमा अघि बढाउने र चिनियाँहरुको सहयोग ल्याउनको लागि सरकारको तर्फबाट गृहकार्य भैरहेको छ ।’
नेपाल भारत र चीनजस्ता ठूला अर्थतन्त्र भएका मुलुकका बीचमा रहेको उल्लेख गर्दै उनीहरुबाट देशको विकासको लागि प्रचण्ड नेतृत्वको सरकारले केही समय यतादेखि काम गरेको उनको दाबी छ । उनले भने,‘अन्तर्राष्ट्रिय रुपमै नेपालको छविलाई अगाडि ल्याउनको लागि अनि विश्वासको वातावरण बनाउनको लागि यो सरकारले प्रयत्न गरेको छ । केही हदसम्म सफल भएको छ । देशको अर्थतन्त्रमा योगदान दिनको लागि यी भ्रमणले योगदान नै दिन्छन् ।’
उनले नेपालका शीर्ष नेताहरुबीच छलफल तथा सम्वाद हुनु नौलो कुरा नभएको टिप्पणी गरेका छन् । टिआरसी टुँगो लगाउने र राष्ट्रियसभाको निर्वाचनमा केन्द्रित रहेर प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका नेतृत्वबीच भैरहेको छलफललाई केन्द्रित गरेर उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘शीर्ष नेताहरुबीच विश्वासको वातावरण सिर्जना गर्नुपर्छ । पछिल्लो चरणमा परिवर्तनका वाहक शक्तिहरुका शीर्ष नेताहरुबीच परिवर्तनको रक्षाको लागि छलफल तथा भेटवार्ता हुनु सकारात्मक कुरा हो । अहिले परिवर्तनको विरुद्धमा कुनै कुनै कोणबाट भ्रम उत्पन्न गरिएपछि यो शक्तिबीच विश्वासको वातवारण बन्ने काम भएको छ । राष्ट्रिय हितमा केन्द्रित भएर विश्वासको वातावरण बनाउनुपर्छ । त्यसको लागि प्रचण्ड, देउवा, ओलीजीबीच सम्वाद भैरहेको छ । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । राष्ट्रिय हितको लागि आपसी विश्वासको वातावरण बनाउनु राम्रो कुरा हो ।’
शर्माले अहिलेको सत्ता गठबन्धन अहिले केही नहुने दाबी गरे । उनले भने,‘यो गठबन्धन निरन्तर जान्छ । यो कुनै तलमाथि हुँदैन् । आवश्यक पर्यो भने एमालेलाई (प्रतिनिधिविहीन) बनाउने पक्षमा छैन् । संविधान नै कोलिसन कल्चरलाई बढावा दिनेछ ।’