काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा यतिबेला निरिह देखिएका छन् । पार्टीका विभिन्न संगठनहरुले आयोजना गर्ने कार्यक्रममा निर्वाचनअघि गठबन्धन गर्न नहुने चर्को भाषण गरेर नथाक्ने गगन यतिबेला भागबण्डा मिलाउन आफैं बालुवाटार धाइरहेका छन् । गठबन्धन संस्कृतिले पार्टीलाई कमजोर बनाएको बताउँदै आएका उनी विगत केही दिनदेखि विहान बेलुकानै सोही काममा व्यस्त छन् ।
सभापति शेरबहादुर देउवाले गठबन्धन गरेर कांग्रेस कमजोर बनाएको आरोप लगाउने उनी यतिबेला भागबण्डाको बार्गेनिङमा आफैं सहभागी छन् । निर्वाचनअघि कुनै पनि दलले गठबन्धन गर्न नपाउने व्यवस्थानै गनुपर्ने आवस्यकता देखेका उनी यतिबेला कांग्रेसलाई गठबन्धन आवस्यक छ भन्ने निश्कर्षसहित भागबण्डाको कशरतमा छन् ।
यसअघि महामन्त्री थापाले अरुको वैशाखी टेकेर कांग्रेस बलियो नहुने बताउँदै आएका थिए । हारेपनि एक्लाएक्लै निर्वाचन लड्नुपर्ने गगन नीति यतिबेला ओझेलमा परेको छ ।
साथै, एक कार्यक्रममा उनले अबको निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने र गठबन्धन गरेको खण्डमा पार्टी एक नरहने चेतावनीसमेत दिएका थिए । ‘अबको चुनावमा कांग्रेसले गठबन्धन गर्दैन, गर्यो भने पार्टी एक रहन्न,’– प्रेस युनियन काठमाडौंले गत कात्तिक २ गते काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले भनेका थिए ।
गठबन्धन संस्कृतिले पार्टी कमजोर बनाएको भन्ने गगनको निश्कर्ष सही हो भने उनी राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन नगर्ने अडानमा बस्नुपर्ने कांग्रेस नेताहरुको तर्क छ । तर, त्यसको विपरीत गगनसहितको कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकै वैशाखी खोजिरहेको छ ।