काठमाडौं,१९ पुस । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी पहिलो पटक संसदीय समितिको बैठकमा उपस्थित भएका छन् । हत्याको आरोप लागिरहेको अवस्थामै चुनाव जितेपछि फरार रहेका कोइरी जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएपछि पहिलो पट समितिको बैठकमा उपस्थित भएका हुन् ।
कोइरी संसदको उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहेका छन् । कोइरीमाथि मधेश आन्दोलनको क्रममा महोत्तरीमा २०७२ भदौमा सशस्त्र प्रहरी बल नेपालका असई थमना बिकको हत्या अभियोग लागेको थियो । घटनापछि फरार रहेका उनी प्रतिनिध सभा निर्वाचनमा महोत्तरी १ बाट नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि शर्मालाई हराउँदै सांसद निर्वाचित बनेका थिए ।
सांसद निर्वाचितपछि शपथ ग्रहणका लागि संसद भवन आएका उनी त्यसपछि फारर रहेका थिए । लगातार १० वटा बैठकमा उपस्थित नभएपछि उनलाई सभामखु देवराज घिमिरेले निलम्बन गरेका थिए । २८ मंसिरमा जिल्ला अदालतबाट सफाई पाएपछि उनको निलम्बन फुकुवा भएको थियो ।