महेन्द्रनगर (कञ्चनपुर), १९ पुस । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा विद्यालय भवन अभाव र जीर्ण रहेका स्थानमा ‘विल्डअन नेपाल’ नामक गैरसरकारी संस्थाले विद्यालय भवन निर्माणलाई तीव्रता दिएको छ ।
कैलाली, कञ्चनपुर, बाँके र बर्दियाका सामुदायिक आधारभूत विद्यालयमा आवश्यकताअनुसार विद्यालय भवन बनाउने योजनामा रहेको उक्त संस्थाले सन् २०२४ मा २५ वटा विद्यालय भवन बनाउने जनाएको छ ।
विल्डअन नेपाल, केन्द्रीय कार्यालय धनगढीका सहायक ट्रेक निर्देशक झरना बमले हालसम्म संस्थाले कैलालीमा एक सय ९३ र कञ्चनपुरमा ९० वटा विद्यालय भवन निर्माण गरिसकेको जानकारी दिए ।
“विद्यालय भवन अभाव, जीर्ण अवस्थामा रहेको र विद्यार्थी सङ्ख्यासमेत ख्याल गरेर भवन निर्माणमा सहयोग गर्दै आएका छौँ”, निर्देशक बमले भने, “अहिले दोधारा चाँदनीका तीन वटा सामुदायिक विद्यालयमा भवन बनाउन व्यवस्थापन समिति र स्कूल प्रशासनसँग छलफल गरिरहेका छौँ ।”
उनले विद्यालय भवन निर्माणका क्रममा स्थानीय र दातृसंस्थामा लगानी गर्ने वैदेशिक लगानीकर्तासमेत भवन बनाउँदा श्रमदानमा खटिने गरेको बताए । “छड्, सिमेन्ट, फलाम, फर्निचरलगायत भवन तयार गर्न सहयोग गर्छौं”, उनले भने, “पालिकाले पनि सो क्रममा बालुवा, गिट्टी र ढुङ्गा लगायतको स्थानीय सहयोग गरिरहेका हुन्छन् ।”
सन् १९९४ देखि विद्यालयका संरचना निर्माण र साक्षरता शिक्षामा सहयोग गर्दै आएको ‘विल्डअन’ ले समाजकल्याण परिषद्बाट स्वीकृति लिएरमात्रै भवन निर्माणको प्रक्रिया अघि बढाउने गरेको बताए ।
“विद्यालय छनोट भएर काम सुरु गर्नेबेला विदेशी दातृनिकायका प्रतिनिधि स्वयं आएर हप्ता÷दश दिन श्रमदानमा खटिन्छन्”, बमले भने, “अहिले विद्यालय छनोट र आवश्यक प्रक्रियागत काम अघि बढेको छ ।” संस्थाले हालसम्म नेपालका दुई सय ६२ भन्दाबढी विद्यालयमा भवन निर्माण गरिसकेको छ ।
“सामुदायिक विद्यालयमा तीनकोठे भवन र दुई कोठाको शौचालय निर्माण गर्ने गरेका छौँ ।” उनले भने, “हामी एक सय चार दिनको लक्ष्य लिएर भवन निर्माण गर्छौं र तोकिएकै समयमा अहिलेसम्म सकिएको अवस्था छ ।” रासस