काठमाडौं, १९ पुस । परराष्ट्र मन्त्रीस्तरीय नेपाल भारत संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदको अध्यक्षतामा बसेको उक्त बैठकमा आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीति र नेपाल भारत सम्बन्धबारे छलफल भएको बताइएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आएका हुन् । उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रपति रामचन्द्र पौडेल लगायतका शीर्ष व्यक्तित्वहरुसँग भेटवार्ता गरिसकेका छन् । भारतीय विदेशमन्त्री जयशंकरले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । भारतीय विदेशमन्त्री जयशंकरले भोलि विहान पशुपति दर्शन गरेर स्वदेश फर्किनेछन् ।