Logo

राज्यले गर्न नसकेको काम राष्ट्रिय युवा संघ नेपालले गरेको भन्दै महेश बस्नेतले गरे प्रशंसा



काठमाडौं, १९ पुष । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राज्यले गर्न नसकेको काम यसपटक राष्ट्रिय युवा संघ नेपालले गरेको भन्दै प्रशंसा गरेका छन् । जाजरकोट भूकम्पपछिको उद्धार र अस्थायी आवास निर्माण पनि राष्ट्रिय युवा संघ नेपालको भूमिका प्रशंसनीय रहेको उनको भनाई छ । उनले भने,‘राष्ट्रिय युवा संघ नेपालले अप्ठेरो परेको बेलामा जनताको बिचमा हामी छौँ भन्ने सन्देश दियो ।

राष्ट्रिय युवा युवा संघ नेपालले आयोजना गर्न लागेको केपी ओली कप तयारी बैठकलाई बिहीबार सम्बोधन गर्दै बस्नेतले यस्तो दाबी गरेका हुन् । अहिले अराजकतावादी, पुनरुत्थानवादी र पपुलिष्ट र अराजकतावादी तत्त्वहरूको पापको शृङ्खला बाहिर आउन लागेको उनले बताए । त्यस्ता शक्तिलाई अझै धक्का दिन आवश्यक रहेको उनको भनाइ छ । सहकारी ठगेर राजनीतिमा आएकाहरू अहिले लाज छोप्न सञ्चारमाध्यमका विरुद्ध मुद्दा हाल्न हिँडेका भन्दै बस्नेतले आलोचना गरे । उनले नयाँ दल भनाउँदाको अहिले देखिएको प्रवृत्तिका विरुद्ध व्यापक भण्डाफोर गर्न आवश्यक रहको पनि औंल्याए ।

लक्ष र उद्देश्यलाई दृढताका साथ लिएर हिँडेको संगठन राष्ट्रिय युवा संघ नेपाल रिस्क जोनमा हिँड्नुपर्ने बस्नेतको भनाई छ । सो क्रममा उनले एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लाग संकल्प यात्राले नागरिकमा एउटा उत्साह थपेको दाबी गरे । उक्त यात्रा नेपालको एउटा ऐतिहासिक यात्रा भएको बस्नेतको दाबी छ । ‘यात्राले नयाँ सपना देख्न छाडेकालाई ब्युँझाउने काम गरेको छ’, उनले भने ।

केपी ओलीले विगतमा आफ्नो प्रधानन्त्रीकालमा मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग, पूर्वपश्चिम लोकमार्गको निर्माण र स्तरोन्नतिको काम सुरु गरेको पनि बस्नेतले स्मरण गराए । एमालेको पालामा २७ वटा उत्तर–दक्षिण लोकमार्ग निर्माणको काम सुरु भएका, ३ सय ९५ वटा अस्पताल निर्माणको काम सुरु भएको, रेलमार्ग निर्माण गरी रेल ल्याएको, सुरुङमार्ग निर्माणको काम सुरु भएको उनले तथ्यांक पेश गरे ।



प्रतिक्रिया दिनुहोस्