काठमाडौं, २० पुस । नेकपा (एमाले) का नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रिय सभामा पार्टीले भागबण्डा खोजेको भन्ने कुरामा आफू जानाकार नरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले राष्ट्रिय सभामा एमालेले गठबन्धन दलहरुसँग भाग खोजेको भन्ने विषय साँच्चै हो वा प्रचारमात्रै हो भन्ने विषयमा आफूलाई प्रष्ट जानकारीनै नरहेको बताए । उनले एमालेले भाग खोजेको हो वा होईन भन्ने कुरा सचिवालय बैठकपछि मात्रै टिप्पणी गर्ने बताए ।
‘यस बारेमा मलाई जानकारी छैन । म आजैमात्र चितवनबाट आउँदैछु । बाहिरी प्रचार हो कि साँच्चै हो नै थाहा छैन । त्यसमा म के टिप्पणी गर्नु ? भोलि हाम्रो सचिवालय बैठक छ, त्यसपछि टिप्पणी गरौंला,’– उनले भने ।
साथै, भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणलाई एमालेले सकारात्मक रुपमा लिएको बताए । उनले यस्ता भ्रमणले दुई छिमेकी देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने उनको भनाई छ । नेपाल–भारतबीच भएको विद्युत व्यापार सम्झौता सकारात्मक रहेको बताउँदै उनले कार्यान्वयन पक्ष राम्रो हुनुपर्ने बताए ।