काठमाडौं, २२ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुले साझा उम्मेदवार उठाउने भएका छन् । गठबन्धन दलबीच भागबण्डा टुङ्गिएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । निर्वाचनमार्फत चयन हुन लागेको १९ सिटमा सत्तारुढ नेपाली कांग्रेसले १० सिट, माओवादी केन्द्रले ६ सिट, एकीकृत समाजवादीले २ सिट र जनता समाजवादी पार्टीले १ सिट पाएको छ ।
त्यस्तै, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एक सिट भने राष्ट्रिय जनमोर्चालाई दिने निर्णय गठबन्धन दलमा भएको छ । जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रिय सभा सदस्य बनाउन सिफारिस गरेको बताइएको छ । पौडेलको नाम गठबन्धन दलबाट अनुमोदन भएको बताइएको छ ।