काठमाडौं, २३ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफूहरुलाई गठबन्धनले पाखा लगाएको भन्दै सत्तारुढ दल जनमत पार्टीले असन्तुष्टि जनाएको छ । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँडमा आफूहरुलाई विभेद गरेको जनमतको आरोप छ ।
जनमत पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य अब्दुल खानले गठबन्धन दलका नेताहरुले आफूहरुलाई समान व्यवहार नगरेको टिप्पणी गरे । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गठबन्धन समझदारी भएपनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा त्यो नदेखिएको बताए ।
‘यो गठबन्धन सुध्रिन पर्यो । सबैसँग समान व्यवहार गर्न पयो । नियत सफा गरेर सबैको न्यायोचित व्यवस्थापन गर्नपर्यो । गठबन्धन भनेको समझदारी होईन ?’ प्रश्न गर्दै उनले भने, ‘अनि त्यो समझदारी कहाँ रह्यो त ? हामीहरुलाई कम संख्या भएकालाई त्यत्तिकै पन्छाइदिने ? लत्याइदिने ?’
साथै, उनले ठूला भनिने दलले यस्तै रवैया देखाइरहे यो गठबन्धन ध्वस्त हुने दाबी गरे । ‘जहाँ न्याय हुँदैन, त्यहाँ केही न केही हुन्छ । म ठोकुवा गरेर भन्छु्, यस्तै रह्यो भने यो गठबन्धन ध्वस्त हुन्छ,’– उनले भने ।