काठमाडौं, पुस २४ । राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट टिकट पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले मनोनयन नै दर्ता गराएनन् ।
सो पार्टीले सुदूरपश्चिमबाट महिला समूहमा जनककुमारी कुवँर, अन्य समूहमा रोम स्वाँर र अपाङ्गता समूहमा जयकृष्ण बोहरालाई टिकट दिएको थियो । तर, टिकट पाएका उम्मेदवारले मतभार नहुँदा उम्मेदवारी दिएनन् ।
प्रदेशसभामा एक जनाबाहेक पालिका तहमा मतदाता नहुँदा टिकट पाएपनि राप्रपाले उम्मेदवारी नदिएको हो । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का तर्फबाट छ जनाले भने निर्वाचन अधिकृतको कार्यालय कैलालीमा आ–आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला समूहतर्फ नेकपा (माओवादी केन्द्र) की रेनु चन्द, नेकपा (एमाले) की सावित्रादेवी घिमिरे, अन्य समूहतर्फ नेपाली कांग्रेसका बलदेव बोहरा, नेकपा (एमाले) का ईश्वरीप्रसाद खरेल र अपाङ्गता समूहतर्फ नेपाली काँग्रेसका नारायणदत्त भट्ट र नेकपा (एमाले) का रामचन्द्र जोशीले मनोनयनपत्र दर्ता गराएका छन् ।
सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य रहेकोमा बझाङको प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिना अघि दुर्घटनामा परी निधन भएको थियो ।
यस्तै प्रदेशका सबै नौ जिल्लामा गरी ८८ स्थानीय तह छन् । प्रदेशसभा सदस्य र पालिका तहका प्रमुख उपप्रमुख(अध्यक्ष उपाध्यक्ष गरेर प्रदेशमा जम्मा मतदाता दुई सय २८ छन् ।
प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका हाल १८ सदस्य छन् । नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।