काठमाडौं, पुस २४ । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सातवटै प्रदेशबाट ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १९ सिटका लागि हुन लागेको निर्वाचनका लागि ८ वटा राजनीतिक दलको तर्फबाट सो संख्यामा उम्मेदवारी परेको हो।
निर्वाचन आयोगका अनुसार सातै प्रदेशबाट महिला समूहबाट १८, दलित समूहबाट ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट ८ र अन्य समूहबाट २१ गरी जम्मा ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार मनोनयन दर्तापछि आज उम्मेदवारको विरोधमा आज दाबी विरोध र उजुरी दिने समय तोकिएको छ । भोली र पर्सी ( पुस २५ र २६ गते ) मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी पुस २६ गते अन्तिम नामावली गर्ने आयोगको तयारी छ ।
पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने सयम सकिएपछि त्यही दिन बेलुका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । त्यस्तै, पुस २८ गते विहान उम्मेदवारलाई निर्वाचन चिह्न उपलब्ध गराईने आयोगले जनाएको छ ।