काठमाडौं, २४ पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट मनोनयन दर्ता गराएका छन् । सत्तारुढ गठबन्धन दलले सिटौलासहित १९ जनालाई साझा उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धन दलको मतभारका आधारमा सिटौला निर्वाचित हुने निश्चित छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन उम्मेदवार बनाएका हुन् । सिटौला निकट स्रोतका अनुसार सत्ता गठबन्धनबाट कांग्रेसले पाएको सिटमा आन्तरिक भागबण्डा नटुङ्गिँदै सिटौला भोलिपल्टको मनोनयन दर्ताका लागि विराटनगर हिँडिसकेका थिए ।
सिटौला कांग्रेसका पूर्वमहामन्त्री एवं सरकारका पूर्व गृहमन्त्रीसमेत हुन् । सिटौलाले २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचन हार व्यहोर्नु परेको थियो । सिटौलालाई दुवै निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीउम्मेदवार राजेन्द्र प्रसाद लिङ्देनले हराएका थिए । सिटौलाले बृहत् शान्ति सम्झौतामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस आधारमा पनि राष्ट्रिय सभा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले सिटौलालाई समर्थन गर्ने धेरैको अनुमान छ ।
सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ मंसिर ५ गते बिस्तृत शान्ति सम्झौता भएको थियो । उक्त शान्ति सम्झौताले दश वर्षभन्दा लामो नेपाली गृहयुद्लाई अन्त्य गरी विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउने ढोका खोलिदिएको थियो । बिस्तृत शान्ति सम्झौताको जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गएको थियो । बिस्तृत शान्ति सम्झौतामा नेता सिटौलाको भूमिका निकै महत्वपूर्ण रहेको माओवादी केन्द्रको बुझाइ छ ।
यस आधारमा अन्य पात्रलाई भन्दा माओवादीले राष्ट्रिय सभा अध्यक्षमा सिटौलालाई सहजै स्वीकार गर्ने कांग्रेस सभापति देउवाको बुझाइ छ । राजनीतिमा कुनै नाटकीय परिवर्तन नभएमा उनी राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्ष बन्ने निश्चित छ ।
सिटौला अहिले ७३ वर्षका भइसकेका छन् । यस आधारमा पनि सिटौलालाई राष्ट्रिय सभा सदस्य हुँदै अध्यक्ष बनाएर कांग्रेसले ‘ग्रेसफुल एक्जिट’ को अवसर दिन खोजेको धेरैको बुझाइ छ ।