Logo

नेपाल-भारतबीचको चार बुँदे सम्झौता ऐतिहासिक भयोः मन्त्री यादव



काठमाडौं, २५ पुस । खानेपानी मन्त्री महिन्द्र राय यादवले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका चार बुँदे सम्झौता नेपालीको हितमा र ऐतिहासिक रहेको दाबी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्ने, त्रिदेशीय विद्युत व्यापारका लागि सहजता र भूकम्प पीडितलाई सहयोग लगायतका सम्झौतालाई उनले ऐतिहासिक सम्झौताको संज्ञा दिए ।

‘दुई देशको बीचमा बैठक भयो । चार बुँदे सम्झौता भयो, त्यो ऐतिहासिक हो । किनकी १० हजार मेगावाट, बंगलादेशलाई बाटो दिने कुरा, देशमा भुकम्प जाँदा यत्रो बजेट दिने ।’ उनले भने, ‘अहिलेसम्म भारतले सबै क्षेत्रमा सहयोग दिएको हो । नेपालको सन्तुलित विकासमा यो पैसाको महत्व रहन्छ । अहिले आएर २० करोड हुँदा के भयो ? महँगी बढ्यो ।’

विद्युत व्यापार सम्झौताले नेपालको अर्थतन्त्रले फड्को मार्ने उनको दाबी छ । साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विभिन्न देशमा भएका भ्रमणले देशको प्रतिष्ठा बढेको उनको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमण र सफलताबाट आत्तिएका केही तत्वहरुले मात्रै सरकार र सरकारका काम कारबाहीको विरोध गरेको उनको भनाइ छ । उनले सरकारले देश र जनताको हितमा काम गरिरहेको दाबी गरे । प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा गरेका सबै सम्झौताहरु देश र जनताको हितमा रहेको उनको भनाइ छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्