काठमाडौं, २५ पुष । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा भएको सहमति सकारात्मक रहेको बताएका छन् । उनले भने,‘नेपाल जलस्रोतको धनी हो । यो हाम्रो सम्पत्ति पनि हो । जलस्रोतको विकासले आर्थिक समृद्धितिर देशलाइै अघि बढाउँछ । नेपालले उत्पादन गर्ने विद्युत भारतलाई १० हजार मेगावाट निर्यात गर्ने सहमति सकारात्मक छ । विद्युत उत्पादन गर्ने कुरामा हाम्रा लक्ष्य छन् । अनि चूनौति पनि छन् । समयमा हामीले परियोजना सम्पन्न गर्ने दायित्व छ । सबैको सहयोग चाहिन्छ । हाम्रो उत्पादित विद्युत पहिलो प्राथमिक आफ्नो नागरिकलाई दिनुपर्छ । ग्रामिण भेगका नागरिकलाई उज्यालो दिनुपर्छ । यो राज्यको कर्तव्य हो । बाँकी रहेको विद्युत निर्यात गर्नुपर्छ । यसले आर्थिक कुरालाई सघाउँछ ।’
विद्युतमा नेपालको बजार नै भारत भएको उनले सुनाए । उनले भने–‘सुक्ष्म तरिकाले गर्नुपर्छ । भारतलाई विश्वासमा राख्नुपर्छ । नेपाली स्वाभिमानलाई कायम राखेर हामीले दुवैको सहअस्तित्व र संवेदनशीलताका आत्मसात गरेर दुवै छिमेकीलाई विश्वासमा लिनुको विकल्प छैन् । भारत आँफैमा ठूलो बजार हो । यो कुरामा सबै दल जिम्मेवार हुनुपर्छ । भारतीय दूतावासबाट खर्च हुने पैसा एकद्धार प्रणालीमा हुनुपर्छ । सरकारलाई जानकारी हुने कुरा राम्रो हो । वन डोर र रकमको सिमा राख्नु उपयुक्त हो ।’
उनले लघुवित्त र सहकारीमा भएको घोटालाबारे पनि सरकारले छानबिन गरेर पीडित जनतालाई न्याय दिनुपर्ने बताए । उनले भने,‘जनता ठगिएका छन् । सरकारले गलत गर्नेलाई छिटोभन्दा छिटो न्यायको कठघरामा ल्याउनुपर्छ । भाषणले पेट भरिँदैन् ।’
उनले कांग्रेस कहाँ छ ? भनेर एमाले नेताले प्रश्न गरेकोमा जवाफ फर्काउँदै कांग्रेस सबैतिर रहेको सुनाए ।
उनले भने,‘कांग्रेस सबै जिल्लामा छ, सबै बस्तीमा छ । सकारमा छ । यो भनिरहनुपर्ने कुरा होईन । अहिले कांग्रेस ठूलो दल छ । यसको आफ्नो ऐतिहासिक पृष्ठभूमि छ । हाम्रो ध्येय के हो भने अहिलेपनि मुलुक अप्ठ्यारोमा अवस्थामा छ । हामी जिम्मेवार छौं । यो संविधानको संरक्षण र सम्वद्र्धन गर्नु सबैको दायित्व हो । यसै संविधानभित्र बसेर कतिपयले संविधानको खिल्ली उडाएका छन् । म पनि संविधानसभा सदस्य हुँ । मुलुका संकट समाधान गर्ने कुरामा राजनीतिक दलहरुले साझा दृष्टिकोण राख्नुपर्छ । राजनीतिक सहिष्णुता राख्नुपर्छ । राष्ट्रिय सहमति आवश्यक हुन्छ ।’