Logo

सन्दीपले थुना बाहिरै रहेर मुद्दाको पुनरावेदन गर्न पाउने



काठमाडौं, २६ पुस । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं स्टार स्पिनर सन्दीप लामिछानेले थुना बाहिरै रहेर मुद्दाको पुनरावेदन गर्न पाउने भएका छन् । उनलाई बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ८ वर्षको जेल सजाय निर्धारण गरेको थियो ।

सन्दीपका कानुन व्यवसायी सरोज कृष्ण घिमिरेले उनले थुन बाहिरै रहेर मुद्दाको पुनरावेदन गर्न पाउने व्यवस्था मुलुकी फौजदारी कार्यविधि संहितामा प्रष्ट रहेको र सोही व्यवस्थाअनुसार आफूहरु छिट्टै नै उच्च अदालतमा पुनरावेदन जाने तयारीमा रहेको बताए । जिल्ला अदालतको फैसलाले सन्दीपमाथि अन्याय भएको उनको भनाइ छ । सन्दीप निर्दोष छन् भन्ने कुरामा आफूहरु विश्वस्त रहेको समेत उनले बताए ।

‘हिजो सम्मानित जिल्ला अदालतले सजाय निर्धारण गरिसकेको अवस्था छ । अब हामी फैसलाको पूर्णपाठ कुर्छौं । २१ कार्यदिन भित्रमा पूर्णपाठ तयार हुने भन्ने व्यवस्था छ । हामीलाई आशा छ, जिल्ला अदालतले सोही अवधिभित्रै पूर्णपाठ तयार गरिदिन्छ । त्यो पूर्णपाठ तयार भएपछि हामी एक पटक अध्ययन गर्छौं ।’ रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै अधिवक्ता घिमिरेले भने, ‘अदालतले गरेको फैसलामा हाम्रो चित्त बुझाइ छैन । पूर्णपाठ आएपछि हामी न्यायका लागि उच्च अदालत जान्छौं । सन्दीप निर्दोष छन् भन्ने कुरामा हामी विश्वस्त छौं । उ पनि निदोष छु भन्ने कुरामा ढुक्क छ । अदालतको फैसलाले उ माथि अन्याय परेको छ ।’

साथै, लामिछानेले राष्ट्रिय टिमबाट अलग रहने स्वघोषणा गरी क्यानलाई पठाएको पत्रमा समेत आफू अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरेका छन् । ‘तपाईँलाई थाहा छ, म आफ्नो जीवनको कठिन समयबाट गुज्रिरहेको छु । म मेरो जीवन, क्यारियर र मेरो भविष्यको परीक्षामा छु’,सन्दीपले पत्रमा भनेका छन्, ‘मैले अनुसन्धान र न्यायिक प्रक्रियाका सबै चरणमा सहयोग गरेँ र अन्ततः काठमाडौँ जिल्ला अदालतले मलाई दोषी ठहर गरेको छ ।’

साथै, आफूले न्यायालयको निष्पक्षतामाथि सधैँ भरोसा गरेको समेत उनले बताएका छन् । निर्दोष छु भन्ने आफ्नो विश्वास अपरिवर्तित र बलियो रहनेसमेत उनले उल्लेख गरेका छन् । घटना वास्तविकताभन्दा धेरै टाढा रहेको र आफूले न्यायको आशा गरिरहेको उनले पत्रमा उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्