Logo

महसुल नबुझाई उद्योगहरुको लाईन जोडिए फेरि लाईन काट्ने कुलमानलाई कर्मचारी संगठनको चेतावनी



काठमाडौं,२६ पुस । नेपाल विद्युत प्राधिकरण अन्तर्गतका ४ वटा संगठनले बक्यौता रकम भुक्तानी नगरी उद्योगको विद्युत जोडिएमा पुनः काटिदिने चेतावनी दिएका छन् ।

आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै कर्मचारी कल्याण परिषद, कर्मचारी युनियन, कर्मचारी कल्याण परिषद र राष्ट्रिय कर्मचारी युनियनले विज्ञप्ति जारी गर्दै कुनै हालतमा लाइन काटिएका उद्योगहरूमा विद्युत लाइन नजोड्न भनेका छन् ।

‘अदालतले समेत विद्युत महसुल असुलउपर गर्न आदेश दिइसकेको अवस्थामा समेत हाल नेपाल सरकारले विद्युत महसुल रकम नबुझाई उद्योगहरूको लाइन जोड्ने निर्देशन दिइएको भन्ने बुझिन आएको छ । लाइन जोडिएमा हामी पुनः त्यस्ता उद्योगहरूको लाइन काट्न बाध्य हुनेछौं’,संगठनको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

डेडिकेटेड फिडर तथा ट्रक लाइनको बिद्युत महसुल बक्यौता रकम नियमानुसार असुलउपर गर्ने सन्दर्भमा ब्यवस्थापनलाई आईपर्ने हरेक चुनौतीको सामना गर्न सदा तत्पर रहनेसमेत कर्मचारी संगठनले उल्लेख गरेका छन् ।

प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको थियो । भने, ६१ वटा उद्योगले २४ अर्बभन्दा धेरे बक्यौता तिर्न बाँकी रहेको बताएको थियो ।



प्रतिक्रिया दिनुहोस्