Logo

संसद् सुरु हुनअघि नै संसदीय समितिबाट विधेयक टुङ्ग्याउनुपर्छ: सञ्चारमन्त्री शर्मा



काठमाडौँ, २६ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद् सुरु हुनुभन्दा पहिले नै संसदीय समितिले विधेयकहरु टुङ्गो लगाउनुपर्ने बताएकी छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले सदनले विधेयक पारित गर्न नसकेको आरोप लाग्ने गरेको भन्दै अनिर्णयको बन्दी भएर नबस्न सांसदहरुलाई आग्रह गरिन् । विधेयक पास गर्न नसक्दा धेरै काम प्रभावित हुने उनको भनाइ थियो ।

बैठकमा ‘संवैधानिक परिषद्सम्बन्धी ऐन, २०६६’ लाई संशोधन गर्न बनेको विधेयक पारितका लागि समिति सदस्यबीच सहमति जुट्न नसकेपछि उहाँले उक्त धारणा राखेका थिए । मन्त्री शर्माले सर्वसम्मतिमा टुङ्गाउनका लागि मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन । “हामीले संसद् चलाउँछौँ तर विधेयक पास गर्न सक्दैनौँ । अहिले संसद् सुरु हुनुभन्दा पहिले समितिले टुङ्गो लगाउने विषयमा सोच्नुपर्छ”, उनले भनिन् । मन्त्री शर्माले अहिलेको संशोधनले पुरानो ऐनमा भएको समस्या सम्बोधन गर्ने बताइन् ।

समिति सभापति रामहरि खतिवडाले संशोधनमाथिको छलफल गहन र निष्पक्षरुपमा गर्नका लागि सदस्यहरुलाई आह्वान गरे । “यो कानुनलाई सत्ता र प्रतिपक्षको इगोका रूपमा लिनुहुँदैन”, उनले भने, “को प्रधानमन्त्री र को मन्त्री छ भन्ने हिसाबले होइन । यसको असर भविष्यसम्म पर्नसक्छ । अझै मेहनत गरेर अगाडि बढौँ । लामो समयका लागि कानुन निर्माण गरौँ ।” 



प्रतिक्रिया दिनुहोस्