भक्तपुर, २८ पुस । ‘सेवा नै धर्म हो’ भन्ने मुख्य मान्यताका साथ सूर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित किवाचोकमा किवाचोक युवा क्लबले आयोजना गरेको बृहत रक्तदान, अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर तथा बाल्कर वितरण कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् ।
‘रगत नपाए भक्तपुर जानु’ भन्ने मुख्य नारालाई चरितार्थ बनाउने लक्ष्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष दिनेश थापाले जानकारी दिए ।
रगत नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अवस्थालाई न्युनीकरण गर्ने योजनाका साथ नेपाल रेडक्रस सोसाईटीको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
नेकपा (एमाले) को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा रक्तदानसँगै ह्विलचियर, वाल्कर तथा बैसाखीसमेत वितरण गरिएको थियो ।
एमाले नेता बस्नेतले सामाजिक सेवाले समाज रुपान्तरण तथा दुः खी गरिबहरुको साहाराको रुपमा रहेको बताउँदै सहयोग गर्ने सबैमा आभार प्रकट गरे ।