काठमाडौं, पुस २९ । पवित्र तीर्थस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला व्यवस्थापनको तयारी पूरा भएको छ । देवघाट क्षेत्र विकास समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी माघेसङ्क्रान्ति मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।हरेक वर्ष माघेसङ्क्रान्तिका दिन त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटको वेणीमा स्नान गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।
यस वर्षको माघेसङ्क्रान्तिमा करिब पाँच लाख भक्तजन देवघाट पुग्ने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक तथा माघेसङ्क्रान्ति मेला व्यवस्थापन समितिका सदस्यसचिव सदन बरालले बताए ।
मेलामा नुहाउन र दर्शन गर्न आउने दर्शनार्थीको लागि सवारी रुट, पार्किङ, स्नान स्थल, लगायतका तयारी पुरा भएको छ । पुस मसान्तमा वेणी–सङ्गममा धार्मिक विधिअनुसार लिङ्गो गाडेपछि माघेसङ्क्रान्ति मेला शुभारम्भ हुन्छ । मेला व्यवस्थापनका लागि चितवन, तनहुँ र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय सरकारलगायतका विभिन्न निकायसँग समन्वय गरिएको माघेसङ्क्रान्तिका दिन रामनगर, ठिमुरा र दासढुङ्गाबाट देवघाट प्रवेश गर्ने र वागीश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको छ ।
देवघाटमा साना सवारीसाधन पार्किङका लागि सीताराम संस्कृत माविको कम्पाउन्ड र ठूला सवारीसाधनलाई दाहसंस्कार प्रवेशद्वारअगाडि पार्किङ स्थलको व्यवस्था गरिएको छ। पार्किङ गर्दा साइकलको १० रुपैयाँ, मोटरसाइकलको २० रुपैयाँ, कार÷जिप÷भ्यानको ५० रुपैयाँ र ठूला सवारीसाधनको १०० रुपैयाँ शुल्क उठाउने समितिको योजना छ ।
नदी वारपार गर्दा डुङ्गा र ¥याफ्टिङको एकतर्फी भाडा ५० रुपैयाँ निर्धारण गरिएको छ । आकस्मिक उद्धारका लागि दुईवटा काठका डुङ्गा, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार र नेपाली सेनाको नयाँ सबुज गणबाट गरी दुई÷दुईवटा ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ ।
मेलामा सुरक्षा व्यवस्था मिलाउन बागमती प्रदेश प्रहरीबाट १७८ जना, जिल्ला प्रहरी कार्यालयबाट १०० जना, ५० जना सशस्त्र र ३० भन्दा बढी नेपाली सेना परिचालन हुनेछन् । तनहुँतर्फबाट करिब १४५ जना सुरक्षाकर्मी परिचालन गरिने छन्। झोलुङ्गे पुलमा एकपटकमा सय जनालाई एकतर्फीरुपमा प्रवेश अनुमति दिइने छ ।