काठमाडौं, २९ पुष । नेकपा (माओवादी केन्द्र) ले विभिन्न दलसँग एकता गर्नको लागि अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको एकता संयोजन समिति गठन गरेको छ । हिजो बसेको स्थायी कमिटी बैठकले अध्यक्ष दाहालको नेतृत्वमा एकता वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । यसअघि नेपाल समाजवादी पार्टीले पनि माओवादीसँग एकताको लागि भनेर अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा वार्ता संयोजन समिति गठन गरिसकेको छ।
नेसपा र माओवादी केन्द्रबीच वार्ताको लागि विभिन्न पटक छलफल तथा वार्ता भएका छन् । दुवै दलका अध्यक्षहरु पार्टी एकताको लागि पटक पटक छलफलमा बसेका थिए । यी दुई दल ०७९ को निर्वाचनअघि नै एकता हुने चर्चा थियो । तर, विविध कारणले दुई दलबीच एकता रोकियो ।
अहिले सरकारको नेतृत्व गरेका प्रचण्डले बाबुरामसँग एकताको लागि ठोस पहल लिएका छन् । उनले नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग पनि एकताको लागि गृहकार्य थालिसकेका छन् । विप्लवले पनि सार्वजनिक रुपमै माओवादी घटकहरु एक हुनुपर्नेमा जोड दिँदै आएका छन् । प्रधानमन्त्री दाहालनिकट उच्च स्रोतकाअनुसार दाहालले यही साता बाबुरामसँग पार्टी एकताको लागि निर्णायक वार्ता गर्ने तयारी गरेका छन् ।
बाबुरामसँगको वार्ता सकारात्मक हुनेबित्तिकै विप्लवलाई पनि एकतामा ल्याउनको लागि ठोस पहल चालिने उनको तयारी छ । पार्टी एकताको लागि विभिन्न घटकमा विभाजित भएका माओवादी शक्तिहरु एक ठाउँमा आउनको लागि शीर्ष नेताहरुबाट नै यसखालको प्रतिबद्धता आउँदा कार्यकर्ता पँक्तिमा भने ठूलो उत्साह देखिएको छ ।
प्रधानमन्त्री दाहालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि नयाँ ढंगले एकता प्रक्रियालाई अघि बढाउन सकिने विकल्पसहित छलफल थालेको चर्चा पनि छ । उनले यसपटक ओलीसँग एक्लाएक्लै भेटवार्ता गरेका छन् । एमाले नेतृत्व पँक्तिले भने प्रधानमन्त्रीको कुर्सीमा संकटको बादल मडारिन थालेपछि प्रचण्डले आफूहरुसँग सहकार्यको हात फैलाउन खोजेको भनेर टिकाटिप्पणी गर्न थालेका छन् । file photo