काठमाडौं, माघ २ । विस १९९० को विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइदैँ आएको छ ।
भूकम्पले क्षति पुर्याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
यसै सन्दर्भमा ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ ११’ भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस– २०८० विभिन्न कार्यक्रमको आयोजना गरी मनाईंदैछ ।
सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षिता आवास निर्माणबारे आमनागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउदैँ आएको हो ।
भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम आज चन्द्रागिरी नगरपालिकामा हुदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृहमन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका उप–सचिव एवं प्रवक्ता ध्रुव बहादुर खड्काका अनुसार भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिनेछ । तीन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना हुनेछ ।
दिवसलाई भव्य रुपमा सफल बनाउन गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । उपत्यकाका तीन स्थान काठमाडौँको चन्द्रागिरी, ललितपुर र भक्तपुरमा मूख्य समारोह आयोजना हुनेछ ।
विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार विस १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो । असी हजार घर ध्वस्त भएका थिए ।
ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो । यसैगरी विसं २०७२ बैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार छ सय ७० जनाको निधन भएको थियो भने सातलाख भन्दा वढी आवासमा क्षति पुगेको थियो ।