Logo

‘रविजीले ओलीको शैलीबाट राजनीतिलाई व्याख्या, विश्लेषण गर्ने, बुझ्ने र बुझाउने गरेको देख्दा टिठ लाग्छ’



काठमाडौं, २ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य नारायण दाहालले विगतमा बनेका सरकार र प्रधानमन्त्रीहरु भन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिलेसम्मकै सफल प्रधानमन्त्री भएको दाबी गरेको छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै जनताले चाहेकै जति काम सरकारले गर्न नसकेपनि उल्लेख्य सुधार भएको दाबी गरेका हुन् ।

एक वर्षको बीचमा सरकारले विद्युतमा गरेको प्रगति ऐतिहासिक भएको उनले बताए । उनले प्रचण्ड प्रधानमन्त्री बन्ने बेलामा नेपालको अर्थतन्त्र श्रीलङ्काको अवस्थामा पुगेको स्मरण गराउँदै उनले प्रचण्डले अहिले विदेशी सञ्चिति रकम १७ महिनालाई पुग्ने बताएको दाबी गरे ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको शैलीमा देशको राजनीतिलाई व्याख्या, विश्लेषण गर्ने, बुझ्ने र बुझाउने शैलीमा गएको दाबी गरे । रास्वपा सभापति लामिछानेहरुलाई देख्दा आफूलाई टिठ लागेको उनले टिप्पणी गरे ।

‘अहिले उहाँले बोलेको कुरामा हाँस्छौं भन्दाभन्दै, मान्छेले त्यसलाई नक्कल गर्छौं र गिज्याउँछौं भन्दाभन्दै रविजीहरु जस्ता मान्छेसमेत त्यही शैलीमा रुपान्तरण हुन खोजेको आभास हुन्छ । मलाई कहिले–कहिले त टिठ पनि लाग्छ ।’ उनले भने, ‘रविहरु केपीले यस्तो झुठ बोल्छन्, उस्तो झुठ बोल्छन्, राम्रोलाई राम्रो भन्न सक्दैनन् भनेर भन्दाभन्दै अहिले रविजीहरु पनि केपीजीको शैलीमा यो देशको राजनीतिलाई व्याख्या, विश्लेषण गर्ने, बुझ्ने र बुझाउने लाइनमा गएको देख्दा टिठ लाग्छ ।’

तीन पटकको कार्यकालमा प्रधानमन्त्री प्रचण्डले देशको राष्ट्रियता, अखण्डता र नेपाली जनताको हित विपरीत सम्झौता र काम गरेको देखाउन उनले चुनौति दिए । एमाले अध्यक्ष ओलीले बार्दलीबाट बोलेर आरोप लगाउँदैमा केही नहुने उनले बताए । आफ्नो पालामा आफूले गर्न नसकेका कामहरु भएपछि एमाले नेताहरु आत्तिएको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्