काठमाडौं, २ माघ । सत्तारुढ गठबन्धन दल जनमत पार्टीका अध्यक्ष सिके राउतले देशको राजनीतिको चाबी नेपाल बाहिर रहेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशको राजनीति बाहिरी नियन्त्रणमा रहेको बताएका हुन् ।
साथै, पछिल्लो एक वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ब्ल्याकमेलिङ गरेर सरकार चलाएको उनको आरोप छ ।
‘विगत एव वर्षमा के देखियो भन्दाखेरी संख्याको आधारमा बुलडोजिङ गर्न सकिएन भने विभिन्न मुद्दाहरु उचालेर बुलडोजिङ गरिएको छ । नेताहरुको पुराना मुद्दाको फाइल खोताल्न लगाएर मानेनौं भने यो फाइल रेडी छ, पक्राउ पर्न सक्छौं भनेर ब्ल्याकमेलिङ गरिएको अवस्था छ । त्यसरी पनि यो गठबन्धन टिकिराखेको अवस्था छ, एउटा कुरा ।’ उनले भने, ‘अर्को कुरा यो देशको राजनीति तपाईँलाई थाहा छँदैछ, यहाँबाट नियन्त्रण हुँदैन । कसले को–सँग जाने भन्ने कुरा अन्तैबाट निर्धारण हुने भएको हुनाले यी नेताहरुले भनेर गठबन्धन टुट्ने वा बन्ने होईन ।’