Logo

सत्तारुढ दलभित्रको अन्तरविरोधका कारण सरकार कुहिएको फर्सीजस्तो बनेको छः महेश बस्नेत



काठमाडौं, ३ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले अहिले आफूहरु गठबन्धन भत्काउने र सरकार बनाउने खेलमा नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु अहिले जनताको जनजीविकाका प्रश्नहरुलाई सुदृढ बनाउने, महँगी भ्रष्टाचार नियन्त्रण गर्ने र अनियमितता कन्ट्रोल गर्न सरकारलाई दवाब दिने काम गरिरहेको बताएका हुन् ।

‘एमालेको प्राथमिकता भनेको गठबन्धन भत्काउने र नयाँ गठबन्धन बनाएर आफू सरकारमा जाने होईन । जनताका जनजीविकाका प्रश्नहरुलाई अझ सुदृढ बनाउने, महँगी भ्रष्टाचार नियन्त्रण गर्ने, अनियमितता कन्ट्रोल गर्ने र सरकारलाई त्यो तहमा व्यवस्थित गर्ने हो,’– उनले भने ।

साथै, अहिलेको सत्ता गठबन्धन दुई वर्ष प्रचण्ड, एक वर्ष माधव नेपाल र दुई वर्ष देउवा भनेर भागबण्डाको आधारमा स्वार्थमा केन्द्रीत भएर अगाडि बढिरहेको उनको आरोप छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि सत्तारुढ दलहरु सत्ता स्वार्थमा नै केन्द्रीत भएको उनको आरोप छ । उनले राष्ट्रिय सभा विधायिकी हिसाबले माथिल्लो तहको सभा भएपनि त्यसमा समेत सत्तारुढ गठबन्धनले संविधानको स्प्रिट विपरीत उम्मेदवार उठाएको आरोप लगाए । वर्तमान सरकारको स्वार्थ भ्रष्टाचारका काण्डमा नाम आएका आफ्ना ठूला नेताहरुलाई जोगाउने र न्द्वकालीन गम्भीर मानव अधिकार उल्लङ्घनका मुद्दालाई ढाकछोप गर्ने देखिएको उनको आरोप छ ।

‘त्यो सभामा जुन ढंगको दलको प्रतिनिधित्व थियो, त्यही ढंगको सहभागिता हुनुपथ्र्यो । सत्ता गठबन्धनलाई टाइट गर्नका निमित्त नेकपा (एमाले) सँग वार्ता गरेको नाटक त गर्नुभयो उहाँहरुले ।’ उनले भने, ‘तर, त्यसको पनि स्वार्थ के देखियो भने भ्रष्टाचारका काण्डमा नाम आएका आफ्ना ठूला भनिएका नेताहरुलाई ढाकछोप गर्ने, द्वन्द्वकालीन गम्भीर मानव अधिकार उल्लङ्घन भएका कुराहरुलाई ढाकछोप गर्ने, टिआरसी विधेयक ड्राफ्ट भएको छ, त्यो विधेयकलाई रातारात पास गर्ने स्वार्थमा प्रधानमन्त्री र कांग्रेसका नेताहरु देखिइसकेपछि हामी राष्ट्रिय सभामा कुनै सहकार्य गर्ने मोडालिटीमा गएनौं ।’

एमाले सरकारको एक वर्षको समीक्षा गर्ने ठाउँमा उभिएको उनको भनाइ छ । उनले वर्तमान सरकारको असक्षमताको कारण महँगी बढेको, भ्रष्टाचार मौलाएको, जनताको जनजीवन साह्रै कठिन बनेको, स्थानीय तह र प्रदेशहरुलाई परिचालन गर्न नसकेको, विकास निर्माणका काम ठप्प भएको आरोप लगाए ।

‘एक वर्षको सरकारको समीक्षा गर्ने ठाउँमा हामी पुगेका छौं । महँगी छोइसाध्य छैन । जनताको जनजीवन साह्रै कठिन भएको छ । सरकारको आर्थिक हैसियत दिन–प्रतिदिन गिर्दो छ । पुँजीगत खर्च १६ प्रतिशत पनि हुन सकेन । स्थानीय तह र प्रदेशहरुलाई पनि परिचालन गर्न सकेन ।’ उनले भने, ‘व्यापक मात्रामा भइरहेको विकास निर्माण ठप्प भएर अहिले तीन वर्षदेखि सबै बन्द भएको स्थिति छ । राजस्व एक तिहाई पनि उठेको छैन । वैदेशिक ऋण र अनुदान जुन ढंगले पाउनु पर्ने थियो, त्यो भएको छैन । शान्ति सुरक्षाको कुरा गर्नुहुन्छ भने रोजगारी माग्न गएका युवाहरुले गोली खानुपरेको अवस्था छ ।’

वर्तमान सरकारलाई एमालेले नढाले पनि सत्तारुढ दलभित्रकै अन्तरविरोधका कारण ढल्ने उनको दाबी छ । उनले अहिले सरकारका काम कारबाहीलाई लिएर सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादी र माओवादीभित्रै पनि ठूलो अन्तरविरोध रहेको बताए । ‘यो सरकार आन्तरिक अन्तरविरोधका कारणले कुहिएको फर्सीजस्तो छ । भेट्नो चलाएपछि थाहा हुन्छ । कांग्रेस, माओवादी र समाजवादीभित्र ठूलो अन्तरविरोध छ । धेरै लामो समय टिक्ला भन्ने मलाई लागेको छ,’– उनले भने ।

साथै, एमालेले संसदीय राजनीतिलाई विकृत बनाउन नचाहेको उनले बताए । उनले अहिले एमाले कांग्रेस, माओवादी र समाजवादी फुटाउने खेलमा नरहेको समेत बताए । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले संसदीय दल अथवा केन्द्रीय कमिटीमा २० प्रतिशत भए हुने गरी अध्यादेश ल्याएर पार्टी फुटाउने गम्भीर आपराधिक कर्म गरेको टिप्पणी गरे ।

‘हामी संसदीय राजनीतिमा विकृति ल्याउने हिसाबले जसरी हिजो नेकपा विभाजन गर्ने हिसाबले साथीहरु लाग्नुभयो । हाम्रो पार्टी विभाजन गर्नुभयो ।’ उनले भने, ‘अध्यादेश ल्याएर दल विभाजन गर्ने ऐनलाई संसदीय दल अथवा केन्द्रीय कमिटीमा २० प्रतिशत भए हुने तहसम्मको गम्भीर अपराधिक कर्म गठबन्धनको देउवा सरकारले गर्यो । हामी त्यो ढंगले शेखर कोईराला र गगनजीहरुलाई उचाल्ने मोडालिटीमा हामी जाँदैनौं ।’

आफूहरु मुलुकको वैकल्पिक शक्ति भएको उनले बताए । सरकार बनाउने र गठबन्धन फुटाउने भन्दा पनि आगामी निर्वाचनमा बहुमत ल्याएर बलियो शक्तिका रुपमा स्थापित हुनका लागि एमाले लागिरहेको उनले बताए ।

‘हामी मुलुकको वैकल्पिक शक्ति हौं । हामी राष्ट्रिय शक्तिका रुपमा विकास गर्न चाहन्छौं, मुलुकलाई विकास गर्न चाहन्छौं । सुशासन र समृद्धि दिन चाहन्छौं । त्यसो भएका हुनाले चुनाव जहिलेसुकै होस्, हाम्रो मिसन भनेको आउँदो चुनावमा बलियो राष्ट्रिय शक्तिका रुपमा आफूलाई उभ्याउने हो,’– नेता बस्नेतले भने ।



प्रतिक्रिया दिनुहोस्