Logo

‘तराईमा गरेको विपद्को पूर्वतयारी हिमालमा लागू हुन्न’



काठमाडौँ, ३ माघ । नेपालको भौगोलिक अवस्थाका कारण एक ठाउँका लागि गरिएको विपद् व्यवस्थापनको पूर्वतयारी अर्को स्थानमा नमिल्ने भएकाले फरकफरक क्षेत्रअनुसारको तयारी आवश्यक देखिएको छ ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका लागि गरिएको पूर्वतयारी पहाड तथा हिमालका लागि नमिल्ने र हिमालमा गरिएको तयारी तराई तथा पहाडी क्षेत्रमा नमिल्ने भएकाले भौगोलिक अवस्था र क्षेत्रअनुसारको तयारी गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ ।

अहिले जाजरकोट भूकम्पबाट प्रभावितको अवस्था हेर्ने हो भने तराई तथा पहाडमा यसअघिका विपद्मा प्रयोग भएका त्रिपालले राम्रो काम नगरेको भन्दै अत्याधिक चिसोका कारण सोही अनुसारको राहत सामग्री र आवास जरुरी रहेको महसुस गरिएकाले कार्यविधि परिवर्तन गरेर भौगोलिक अवस्था अनुसार विपद्को तयारी गर्न लागिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । काम गर्दै जाँदा धेरै नयाँ कुरा सिक्ने अवसर पाइएको भन्दै क्षेत्र अनुसार विपद्को तयारी गर्नुपर्ने देखिएकाले प्राधिकरण कार्यविधि परिमार्जन गर्नेतर्फ लागेको उनले बताए ।

“चिसो क्षेत्रमा त्यसलाई थेग्ने गरी नै तयारी गर्नुपर्छ भने गर्मी क्षेत्रमा सोही अनुसारका विपद् व्यवस्थापन जरुरी छ । त्यसका लागि आवश्यक गृहकार्य सुरु भइसकेको छ”, पोखरेलले भने, “भौगोलिक क्षेत्र अनुसार तयार पारिएका राहत सामग्री व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्राधिकरण अब सोहीअनुसार काम गर्ने तयारीमा जुटेको छ ।” उनले विपद् व्यवस्थापनमा पालिकाको जिम्मेवारी धेरै रहेकाले पालिकाले अझै सक्रियता देखाउनुपर्नेमा जोड दिए ।

यसपाली जाजरकोट भूकम्पमा परेकालाई भौगोलिक क्षेत्र अनुसारको राहत सामग्री नहुँदा चिसोका कारण धेरैले ज्यान गुमाएका छन् । सामान्य पहाड तथा तराईमा प्रयोग हुने त्रिपाल सुरुवाती चरणमा राहतस्वरुप जाजरकोट भूकम्पमा पुगेका थिए । ती त्रिपालले चिसो थेग्न नसक्दा सुत्केरी, महिला, बालबालिका र बुढाबुढी प्रभावित भएका थिए ।

त्रिपालबाट पानी चुहिएर बिहान सबै सामान भिज्ने गरेको पीडतहरुले अनुभव सुनाएका थिए । सोही कारण प्राधिकरणले क्षेत्र अनुसारका राहत सामग्री व्यवस्थापन गर्नुपर्ने निष्कर्षका साथ कर्याविधि परिमार्जन गर्न लागेको छ । रासस



प्रतिक्रिया दिनुहोस्