Logo

एकवर्षमा लोकसेवा आयोगको ५ पदमा नाम निकाल्ने मनीषालाई केपी ओलीको बधाई



काठमाडौं,४ माघ । लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) लाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी थिईन् ।

पुर्व प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा मनीषाको तस्बिरसहित मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने मनीषाले सकारात्मक सन्देश दिन सफल भएको पनि बताएका छन् ।

‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरूमा पढेँ । यो सुखद खबर हो’, ओलीले भनेका छन्, ‘मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना !’

उनले एक वर्षमा कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्