काठमाण्डौं, माघ ६ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा माघ १ गतेदेखि लागेको ताला खुलेको छ । उपकुुलपति प्रल्हाद कार्कीले राजनीति गरेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ताला लगाएका थिए । उच्च अदालत विराटनगरको आदेशपछि साम्पाङले आफ्नो सचिवालयका कर्मचारीलाई खटाएर ताला खोलेका हुन् ।
तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालतले बिहीबार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश दिएको थियो । अदालतको आदेशपछि उपकुलपतिको कार्यकक्षमा लागेको ताला खुले पनि डाक्टर र कर्मचारीले गर्दै आएको हडताल भने कायमै छ ।