काठमाडौं, ६ माघ । वरिष्ठ पाइलट कूलबहादुर लिम्बुको संयोजकत्वमा निर्विकल्प नमूना पार्टी नेपाल घोषणा भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विधिवत रुपमा पार्टी घोषणा गरिएको हो ।
पार्टीका अन्य पदाधिकारीहरुमा वरिष्ठ नेतामा डा. जितेन्द्र घिमिरे, उपसभापति माला थापामगर, महासचिव शिवराम थापा, सचिव गणेश अम्गाईँ, कोषाध्यक्ष विष्णुप्रसाद पौडेल, सहप्रवक्ता लोकनाथ चुँडाल रहेका छन् ।
नवगठित पार्टीका संयोजक लिम्बुले नेपाली विशेषताको समाजवाद निर्माण गर्ने लक्ष्यका साथ दल गठन गरिएको बताए । नेपाली राजनीतिज्ञहरुको अकर्मन्यताका कारण भ्रष्टाचार, बेरोजगार, ब्यवस्थित बजारलगायतका समस्या निम्तिएको उनले बताए । अहिले गलत मान्छेले सही ठाउँ ओगटेर बसेको उनको ठहर छ । सबै जनतालाई नवगठित पार्टीमा आवद्ध भई हातेमालोका लागि उनले आह्वान गरे ।
त्यसैगरी, उक्त पार्टीका सहप्रवक्ता चुँडालले नेपालीमै रहेका सीप, दक्षता र प्राकृतिक स्रोतहरुलाई बहुआयमिक ढंगले प्रयोग गरेर अहिले देखिएका विविध समस्या र निराशाको सम्बोधन गर्न पार्टीले अहम भूमिका खेल्ने विश्वास व्यक्त गरे । देशको मेरुदण्ड कृषि रहेको बताउँदै उनले कृषिको उन्नति नभई समृद्धिको यात्रा तय नहुने बताए । आम युवाहरुलाई ठूला–ठूला कृषि उत्पादनमा जोड्न आवश्यक रहेको बताए ।