Logo

राष्ट्रिय सभा निर्वाचनः सत्तारुढ गठबन्धन दलका उम्मेदवार सापकोटा र सुवेदी भन्छन्, ‘जित निश्चित छ’



काठमाडौं, ६ माघ । लुम्बिनी प्रदेशका राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार झक्कुप्रसाद सुवेदीले आफुहरुको जित निश्चित भएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आज (शनिबार) आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै निर्वाचन जिते पश्चात प्रतिनिधि सभाले पास गरेका बिधेयकहरु माथि गहन अध्ययन र छलफल गरी सुझाव सल्लाह दिने भन्दै पहिलो काम किसान, महिला, दलित, उत्पिडित बर्गाको पक्षमा नीति निर्माण गर्ने र प्रदेशको समग्र बिकासमा पनि अग्रसर हुने बताए ।

“लुम्बिनीका प्रतिनिधि भएर जनताको पक्षमा काम गर्न चाहान्छौ, बिधेकलाई बैज्ञानिक त बनाउँछौ नै समान खालको बिकास निर्माणमा समेत जोड दिनेछौँ,”– उनले भने ।

आफुहरुको जितको सुनिश्चित गर्ने गठबन्धननै भएको भन्दै अहिलेको गठबन्धनले सुशासन कायम गर्ने, सामाजिक न्याय स्थापित गर्ने बताए । फरक प्रसंगमा बोल्दै नेता सुवेदीले प्रचण्ड सधैं सहमति र सहकार्यको पक्षधर रहेको बताए । गठबन्धनभित्र भएको सहमति हुबहु पालना हुने जिकिर समेत उनले गरे । उनले निर्वाचनका लागि मात्र गठबन्धन नभएको भन्दै प्रतिगम बिरुद्ध गठबन्धन बनेकोले यो लामो समय टिक्नेसमेत दाबी गरे ।

त्यस्तै, अर्का उम्मेदवार बिष्णुकुमारी सापकोटाले आफूहरुको जित शुनिश्चित भएको बताईन् । उनले राष्ट्रियसभा निर्वाचनका मतदाताहरु नेतृत्व तहका हुने भएको हुँदा मत बदर नहुने र लुम्बिनी प्रदेशमा मतभार पनि बढि भएको कारण आफूहरुको जित शुनिश्चित रहेको उनको भनाइ छ ।

त्यस्तै, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति तथा प्रदेश चुनावी गठबन्धनका संयोजक अमंरसिंह पुनले गठबन्धनमा भएको सहमति मतादाताहरुले अक्षरसः पालना गर्ने कुरामा कुनै शंका नरहेको बताए । त्यसका लागि गठबन्धन भित्रका दलहरु सचेत रहेर अगाडि बढेको उनको भनाइ छ । उनले सबै जिल्लामा उम्मेद्वारहरुलाई परिचय गराउने काम अन्त्यतिर पुगेको जानकारी गराए । सभापति पुले सिंगो गठबन्धनको मतभार ५६३९ रहेको र विपक्षमा ३९२५ मतभार रहेको हुँदा धेरै मतान्तरमा गठबन्धनको जित हुने निश्चित रहेको ठोकुवा गरे ।

राष्ट्रिय सभा निर्वाचनका लागि सापकोटा नेपाली कांग्रेस, र सुवेदी नेकपा (माओवादी केन्द्र) बाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् ।

कार्यक्रम रिपोर्टर्स क्लव नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्