Logo

आगामी महाधिवेशनबाट प्रचण्ड पनि निर्वाचित भएर नेतृत्वमा आउनुपर्छः माओवादी नेता शर्मा



काठमाडौं, ७ माघ । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले आगामी महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि निर्वाचित हुनुपर्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आगामी महाधिवेशनमा सबै पदाधिकारीहरु निर्वाचित हुनुपर्ने व्यवस्था विधानमै गर्नुपर्ने बताएका हुन् । उनले दुई दिन पहिला सदस्यता लिएको, दुई दिन पहिला पार्टीमा लागेको भनेर पद ओगट्न नपाइने र यसरी पार्टी पनि नबन्ने बताए ।

‘अब आउने महाधिवेशनमा अध्यक्ष कमरेड पनि निर्वाचित हुनुपर्यो । पदाधिकारीहरु पनि निर्वाचित हुनुपर्छ । दुई दिन पहिला सदस्यता लिएको, दुई दिन पहिला पार्टीमा लागेको भनेर अब पद ओगट्न पाइँदैन ।’ उनले भने, ‘यसरी पार्टी बन्दैन । इतिहासको सम्मान गर्ने विधि हामीले बनाऔं । तर, वर्तमानमा ड्राइभ गर्ने खालको जनशक्तिलाई हामीले नेतृत्वमा ल्याउन सकेनौं भने हाम्रो पार्टी अगाडि बढ्न सक्दैन । अहिलेको यो आवश्यकता हो ।’

अध्यक्ष प्रचण्डले पनि आफू तलैबाट निर्वाचित भएर आउन चाहेको उनको भनाइ छ । प्रचण्डले सबै टिमलाई ‘निर्वाचन प्रक्रियाबाट आउ, म पनि निर्वाचनमा जान तयार छु’ भन्न सक्नुपर्ने उनले बताए । महाधिवेशनमा प्रत्यक्ष निर्वाचित प्रणालीको व्यवस्था गर्न नसकेका पार्टी रुपान्तरण हुननसक्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्