काठमाडौं,७ माघ । संघीय संसद्को महासचिवमा डा. पद्यप्रसाद पाण्डेयलाई नियुक्त गर्न माग गर्दै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएका छन् ।
यसअघि आफूहरुले सयुक्तरुपमा सिफारिस गरेर पठाएको पाण्डेयको नाम किन तामेलिमा राखिएको हो भन्दै सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले शीतल निवासलाई गत शुक्रबार पत्र पठाएको संसद् सचिवालय स्रोतले जनाएको छ ।
मंसिर २५ गते तत्कालीन महासचिव डा। भरतराज गौतमले महासचिव पदबाट राजीनामा दिएका थिए । गौतमको राजीनामापछि प्रतिनिधि सभाका सचिव रहेका पद्मप्रसाद पाण्डेलाई महासचिव नियुक्तिका लागि सभामुख र अध्यक्षले सिफारिस गरेका थिए ।
तर, कार्यकाल सकिनुअघिनै गौतमलाई राजीनामा गर्न लगाएर पाण्डेलाई महासचिवमा सिफारिस गरेको भन्दै राष्ट्रपतिप ौडेलले सिफारिस अलपत्र परेपछि संसद्बाट राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र लेखिएको हो।
सभामुख घिमिरेले आइतबार प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूसँग गरेको छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै संसदको महासचिव नियुक्तिमा आफूले गर्नुपर्ने सिफारिस गरिसकेको बताएका थिए।
‘महासचिव नियुक्त गर्न आफ्नो ठाउँबाट गर्नुपर्ने सिफारिस गरिसकेको छु,’ उनले भने, ‘टुंग्याउनुपर्ने स्थानबाट छिटो टुंगिएला भन्नेमा आशावादी छु।’
तर, राष्ट्रपति पौडेलले भने राष्ट्रिय सभाको निर्वाचन पछिमात्र संसद्को महासचिव नियुक्त गर्ने गरी घिमिरे र तिमिल्सिनाको सिफारिसलाई तामेलीमा राखेका छन् । यसरी राष्ट्रपति कार्यालयले अनावश्यक चासो देखाएर आफूहरुको सिफारिसलाई बेवास्था गरेको भन्दै सभामुख र शीतल निवासबीच टकरावको स्थिति सिर्जना भएको छ ।
नियुक्ति प्रक्रियामा ढिलाई हुने देखेर सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाको परामर्शमा राष्ट्रपति पौडेलले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै गत मंसिर २७ गते सचिव पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिवको जिम्मेवारी तोकेका छन् ।