काठमाडौं, ८ माघ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मधेशी नेताको गद्दारीको कारण समृद्ध मधेश आज उजाड भएको आरोप लगाएका छन् । उपेन्द्र यादवको गृहजिल्ला सप्तरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै साहले मधेशवादी भनाउँदा नेताहरुले मधेश र मधेशी जनतालाई केवल कुर्सी प्राप्तिको भर्यांग बनाएको आरोप लगाए ।
उनले बाहिर बाहिर पहाडी समूदायका जनताप्रति घृणा देखाउने र भित्रभित्र त्यही पहाडी समूदायको नेताको चाकडी गर्ने कामपनि मधेशी नेताले गरेको आरोप लगाए । उनले मधेशी नेताहरुले व्यक्तिगत स्वार्थ र लाभका खातिर सदियौंदेखि सद्भावयुक्त सामाजिक सम्बन्धलाई खलबलाउने र अस्वस्थ बनाएको दाबी गरे । मधेशी नेताहरुले पहाडी शासकसँग मिलेर मधेशको उद्योग र व्यापारको आधार र स्रोतलाई समेत ध्वस्त बनाएको साहको आरोप छ ।
आजपाले विभिन्न मागसहित संघर्षको मैदानमा रहेको प्रवक्ता सिबी साहले जनाए । उनकाअनुसार आज त्यही संघर्षको कार्यक्रमअन्तर्गत आज (सोमबार) सप्तरीको राजविराजमा बैंकिङ लुटको विरुद्ध अन्तरक्रिया राखिएको हो । आजपा सप्तरी जिल्ला कमिटीद्वारा आयोजित बैंकिंग तथा वित्तीय संस्थाको ठगी तथा लुटको विरुद्ध बृहत अन्तरक्रिया कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न भएको साहले जनाए ।
कार्यक्रमको अध्यक्षता युवा नेता सुनिलराज दास र सञ्चालन आईटी आर्मीका उपाध्यक्ष दिलिप साहले गरेका थिए । यस्तै, पार्टी प्रवक्ता चन्द्र भुषण साह (सिबी), प्रदेश अध्यक्ष उमेश कुशवाहा, आम महिला मोर्चाको अध्यक्ष कुमारी बबिता, केन्द्रीय सदस्यहरु प्रमोद राणा, ई. प्रेम साह, लुघुवित पीडित परिवारका जिल्ला अध्यक्ष सावित्री देवी चौधरी, सन्दिप साह, देव कुमारी सेन्चुरी लगायतको उपस्थिति रहेको पार्टीले जनाएको छ ।
उक्त अन्तरक्रियामा बैंकहरुले लुटेको मनोमानी व्याज फिर्ता, लघुबित्त र सहकारीबाट लिएको कर्जा मिनाहा तथा आम सर्वसाधारण जनतालाई सहज कर्जा उपलब्ध गराउनका लागि यही माघ ११ गतेको दिन पूर्व घोषित मधेश प्रदेश बन्दको कार्यक्रम सफल पार्न सबैले आ आफ्नो स्थान र स्तरबाट सक्रिय साथ, सहयोग र सहभागिता जनाउने दृढ़ अठोट एवं प्रतिबद्धता पनि जाहेर गरिएको प्रवक्ता साहले जनाए ।