Logo

सांसद् पन्तको प्रश्नः राप्रपाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न हुने, एमालेले गठबन्धन गर्दा चाहीँ गणतन्त्र कमजोर हुने ?



काठमाडौं, ९ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्व मन्त्री रघुजी पन्तले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशीमा राप्रपासँग विपक्षी गठबन्धन बनेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले डे टू डे को पलिटिक्समा अपोजिसन गठबन्धन बनाएर आफूहरु अगाडि बढेको बताए । उनले राप्रपासँग एमालेले चुनावी गठबन्धन गर्दा गणतन्त्र खतरामा पर्छ भन्ने कुरामा सत्यता नरहेको पनि बताए । देशमा गणतन्त्र ल्याउनमा एमालेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भोलि गणतन्त्रमाथि खतरा आउँदा पनि त्यसको रक्षाका लागि एमालेनै सबैभन्दा अग्रपंत्तिमा उभिने बताए ।

‘नेपालमा गणतन्त्र ल्याउनमा निर्णायक भूमिका नेकपा (एमाले) को छ । त्यस कारण भोलि गणतन्त्रमाथि खतरा आइपुग्यो भने गणतन्त्र जोगाउन सबैभन्दा अगाडि नेकपा (एमाले) सर्छ । तर, यो डे टू डे को पलिटिक्समा भनेको अपोजिसनको गठबन्धन बन्छ । यो कुनै असैद्धान्तिक कुरा होईन । हामीले राप्रपासँग गठबन्धन बनाउनुको तात्पर्य राप्रपाको सिद्धान्त र विचार स्वीकारेको होईन । राप्रपाले पनि हाम्रो विचार स्वीकारेको होईन,’– उनले भने ।

आसन्न राष्ट्रिय सभा निर्वाचनमा बहुमत नभएपछि कोशीमा राप्रपासँग विपक्षी गठबन्धन बनाएको उनले बताए । उनले कृष्णप्रसाद सिटौलालाई हराउन भन्दा पनि विपक्षी गठबन्धनलनलाई परास्त पार्न आफूहरु अगाडि बढेको बताए । ‘कृष्णप्रसाद सिटौला व्यक्तिको कुरा होईन । हिजो संविधान बनाउनमा उहाँको आफ्ुनो देन थियो, त्यो आफ्नो ठाउँमा छ । तर, अहिले एउटा गठबन्धनको उम्मेदवारलाई हराउन अर्को गठबन्धनको उम्मेदवार खडा भएका छन् । अब त्यसमा जो कोही पनि गठबन्धनको उम्मेदवार भएर आउन सक्छ । त्यसको विरुद्धमा हाम्रा पनि त्यत्तिकै राम्रा उम्मेदवारहरु हुनसक्छन् । कसले जित्छ, कसले हार्छ भोलि भोटिङ गरेपछि थाहा हुन्छ ,’– पन्तले भने ।

तत्कालीन समयमा राप्रपाको समर्थनसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको स्मरण गराउँदै उनले एमालेले राप्रपासँग चुनावी गठबन्धन गर्दा गणतन्त्रवादी सिद्धान्त कमजोर नहुने बताए । ‘प्रचण्डजी राप्रपाको समर्थन लिएर प्रधानमन्त्री बन्नु भएको होईन ? हामी त आफ्नो स्ट्याण्डमा कायम छौं । त्यो बेला पनि राप्रपाको समर्थन लिएर प्रधानमन्त्री बन्दा प्रचण्डजीको गणतन्त्रवादी सिद्धान्त कमजोर नहुने ? अहिले हामी राप्रपासँग मिल्दा कमजोरर हुने भन्ने हुन्छ ?’ उनले भने ।

अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा कसैको बहुमत नभएको अवस्थामा निर्वाचनमा गठबन्धन हुने गरेको उनले बताए । एमाले गणतन्त्र र संविधानको रक्षाको कुरामा दृढ रहेको उनले बताए । उनले एमाले अहिले सरकार ढाल्ने र गठबन्धन भत्काउने खेलमा नरहेको बताए । एमाले जनताको पक्षमा र जनतालाई एकतावद्ध बनाएर सरकारलाई राम्रा काम गर्न दवाब दिने कार्यमा रहेको उनले बताए । संघीय लोकतान्त्रिक गणतन्त्र जनताले लडेर ल्याएको बताउँदै उनले सिद्धिसकेको र विदा भइसकेको राजतन्त्र फर्काउन पर्ने कुनै आवश्यकता नरहेको समेत बताए । उनले पूर्वराजा ज्ञानेन्द्रले शासन गर्दैगर्दा आफूहरु जेलमा बसेको स्मररण गराउँदै आफूहरुले पूर्व राष्ट्र अध्यक्षका रुपमा उनलाई सुरक्षा र सम्मान दिएर राखेको बताए । उनले यसलाई लोकतन्त्रको सौदर्यका रुपमा चित्रण गरे ।

‘जनताले आफूले लडेर ल्याएको गणतन्त्र हो । सिद्दिसकेको, विदा भइसकेको राजतन्त्रलाई फर्काउने कुनै आवश्यकता पनि छैन । ज्ञानेन्द्र पनि एक जना नेपाली नागरिकको रुपमा, पूर्व राष्ट्रअध्यक्षको रुपमा देशले सम्मान दिएर राखेको छ । यो हो नि लोकतन्त्रको सौदर्य ।’ उनले भने, ‘हिजो ज्ञानेन्द्र सरकारमा हुँदा हामी सबै जेलमा थियौं । आज ज्ञानेन्द्र देशव्यापी रुपमा घुम्न पाइरहेका छन् । उनको सुरक्षा गरेको छ राज्यले । लोकतन्त्र यो दिन्छ । राजाले दिएका थिए ?’ File Photo



प्रतिक्रिया दिनुहोस्