काठमाडौं,१० माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निवास विराटनगरमा चियापान कार्यक्रम गरेका छन् ।
बिहीबार हुने राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा कोइरालाले चियापानको आयोजना गरेका हुन् । कोइरालाले निर्वाचन आचारसंहिता उलङ्घन गर्दै चियापानको आयोजना गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि बोलाएर चियापान गरेका हुन् ।
शून्य समयको बेला कोइरालाले उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला,भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारसंहिता छ ।
त्यसलाई उल्लङ्घन गर्दै कोइरालाले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईँलगायत सहभागी छन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनबाट कांग्रेसका सिटौला र माओवादी केन्द्रबाट चम्पा कार्की उम्मेदवार रहेका छन भने प्रतिपक्षी दलबाट राप्रपाका उद्धव पौडेल र एमालेकी रुक्मिणि कोइराला उम्मेदवार रहेका छन् ।
। कोइरालाले पार्टी एकढिक्का रहेको सन्देश दिन चियापान गरेको उनीनिकट नेताहरूले बताएका छन्।