Logo

सहकारी पीडितहरुले सहकारी संस्थाबाटै बचत फिर्ता लिने हो, सरकारले दिँदैनः सचिव दुवाडी



काठमाडौं, १० माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले वित्तीय सुशासन कमजोर रहेका सहकारीहरुका कारण उक्त क्षेत्र बदनाम भइरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बचत फिर्ता गर्ने कुरामा शर्तनामा बमोजिम सम्बन्धित संस्थाका सञ्चालक, पदाधिकारी, कर्मचारी र व्यवस्थापकहरु जिम्मेवार हुने बताएका हुन् । सरकारका निकायहरुले कानुन बमोजिम नियमन, अनुगमन र सुपरीवेक्षणमात्रै गर्ने उनको भनाइ छ ।

सहकारीमा सदस्यहरुले राखेको बचत सहकारीकै सिद्धान्त, मूल्य, मान्यता अन्तर्गत रहेर सहकारीले आफूले तय गरेको विधि र विनियमावली बमोजिम लगानी गर्नुपर्ने उनले बताए । सोही बमोजिम उनीहरुले कर्जा असुली गर्नुपर्ने उनले बताए । सहकारी सञ्चालकहरुले बचतकर्ताहरुलाई शर्तनामा बमोजिम रकम फिर्ता दिनुपर्ने उनले बताए । सरकारले बचतकर्ताका रकम फिर्ताका लागि सहजीकरण गरिदिने उनले बताए ।

‘गलत गरेका सहकारीहरुलाई सरकारले कारबाहीको दायरामा ल्याएर बचतकर्ताको बचत फिर्ता गर्दिने हो । गलत गरेकालाई कारबाही गर्ने हो । यसमा सरकार लागिरहेको छ । सबै बचतकर्ताले बचत फिर्ता पाउनुपर्छ, सरकारले दिनुपर्छ भन्ने विषय त्यहाँ जोडिदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्