Logo

कोशीबाट सिटौलालाई हारको ‘ह्याट्रिक चखाउने’ एमाले-राप्रपाको रणनीति सफल होला ?



काठमाडौं,१० माघ । बिहीबार हुने राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै ११ माघमा राष्ट्रिय सभामा रिक्त १९ सिटका लागि हुने निर्वाचनको तयारी पूरा भएको जनाएको छ ।

आगामी फागुन २० गतेबाट रिक्त हुन लागेको राष्ट्रिय सभाका १९ सिटमा बिहीबार निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभाका रिक्त १९ सिटमा विभिन्न दलका कूल ५२ जना उम्मेदवार रहेका छन् ।

सत्तारुढ दलले सातै प्रदेशमा गठबन्धन गरेर उम्मेदवार उठाउँदा प्रतिपक्षी दल राप्रपा र नेकपा एमालेले एकल उम्मेदवार उठाएका छन् । अन्यन्त्र एकल उम्मेदवार उठाएका एमाले र राप्रपाले भने कोशी प्रदेशमा अन्तिम समयमा तालमेल गरेका छन् । तालमेलको सहमति अनुसार कोशी प्रदेशको अन्य समूहका उम्मेदवार रहेका राप्रपा नेता उद्धव पौडेललाई एमालेले सघाउने छ भने महिला कोटातर्फ उम्मेदवार बनेकी एमाले नेतृ रुक्मिणि कोइरालालाई राप्रपाले सघाउनेछ ।

कोशीमा पौडेलको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला रहेका छन् भने कोइरालाले नेकपा माओवादी केन्द्रकी चम्पा कार्कीसँग भिड्नेछिन् ।

कोशीमा सिटौला र राप्रपा एमालेको यो लगातार तेस्रो भेट हो । नेपाली कांग्रेसका पूर्व महामन्त्री, पूर्व गृहमन्त्री तथा पटक पटक मन्त्री भएका सिटौला संविधान निर्माणपछि संसद्मा पुग्न सकेका छैनन् ।

नेपाली कांग्रेसभित्र केह समय तेस्रो धारको समेत नेतृत्व गरेका गणतन्त्रवादी नेताको छवि बनाएका सिटौलालाई संसद्मा पुग्न नदिन एमाले राप्रपाले गरेको तालमेल यो तेस्रो पटक हो ।

२०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा झापा ३ बाट उम्मेदवार रहेका सिटौला राप्रपाका राजेन्द्र लिङदेनसँग भारी मते पारजित भएका थिए । ०७४ मा लिङदेनले ४४ हजार ६ सय १४ मत पाउँदा सिटौला ३१ हजार १ सयमा रोकिँन पुगेका थिए । त्यसबेला लिङदेन राप्रपाको महामन्त्री रहेका थिए भने गत वर्षको मंसिर ४ मा सम्पन्न निर्वाचनमा पनि सोहि क्षेत्रबाट सिटौलालाई पन्छाउँदै उनी दोस्रो पटक संसद्मा छिरेका थिए ।

गत वर्ष पनि लिङदेनले झापा ३ बाट ४० हजार ६ सय मत ल्याउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका सिटौलाच ३७ हजारमा रोकिएका थिए । गत वर्ष भने लिङदेन राप्रपाको महामन्त्रीबाट छलाङमार्दै अध्यक्षमा पुगेका थिए ।

लिङदेनले लगातार दुईपटक झापाका स्थापित नेता सिटौलालाई एकल प्रयासमा हराएका भने होइनन् । ०७४ को वैशाखमा सम्पन्न स्थानिय निर्वाचनसम्म कांग्रेससँग तालमेल गरेको राप्रपाले सोहि वर्षको मंसिरमा भएको निर्वाचनमा भने नेकपा एमालेसहितको तत्कालीन गठबन्धनसँग तालमेल गरेका थिए । भने गत वर्षपनि उनले एमालेकै बलमा सिटौलालाई दोस्रो पटक संसद्मा जानबाट रोकेका थिए ।

कोशी प्रदेश सिटौलासँगै राप्रपा अध्यक्ष लिङदेन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि गृह जिल्ला हो । लगातार २ पटक सिटौलालाई संसद्मा जानबाट रोकेका एमाले राप्रपाले यसपटक पनि उनलाई रोक्ने प्रयास गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा संघ र प्रदेश सभा निर्वाचनमा जस्तो आम नागरिक मतदाता हुनेछैनन् । राष्ट्रिय सभाका लागि प्रदेश सभा सद्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था रहेको छ भने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार पनि फरक फरक हुने ब्यवस्था रहेको छ ।

कोशी प्रदेशमा हाल राष्ट्रियसभाका लागि ३६७ जना मतदाता रहेका छन् । जसमा प्रदेशसभा सदस्य ९३ र १३७ वटा पालिकाका प्रमुख उपप्रमुख गरेर २७४ जना छन् ।

प्रदेश र स्थानीय तहको गरी एमालेको कुल मत भार सर्वाधिक ४ हजार २४८ छ । यस्तै, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १,२७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार देखिन्छ ।

सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एस र जसपाको कुल मत भार हुन्छ, ५,४३६ रहेको छ । बाँकी रहेका एमाले(राप्रपा र स्वतन्त्र सबै मिल्दा कूल मतभार ४ हजार ६९९ हुनेछ । अर्थात् ८ सय ८४ मतले यहाँ सत्ता गठबन्धन एमाले–राप्रपा गठबन्धनभन्दा अगाडि छ। मतभारलाई हेर्ने हो भने यहाँ सिटौला सहज रुपमा विजयी हुन सक्छन्।

सत्तारुढ दलको प्रष्ट बहुमत रहेको हुँदा राप्रपा र एमालेबीचको तालमेलले पनि असर नगर्ने सत्तारुढ दलको दाबी रहेको छ । तर, सिटौलाको उम्मेदवारीलाई लिएर कांग्रेसभित्र तीव्र असन्तुष्टि रहेको छ । कांग्रेसले यसपटक अवसर नपाएका र पार्टीमा लामो समयसम्म योगदान गरेका व्यक्तिलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो ।

केन्द्रीय समितिको निर्णय लत्याउँदै चुनाव हारेका सिटौलालाई चोरबाटोबाट राष्ट्रिय सभामा लैजान लागेको भन्दै संस्थापन इतर समूह असन्तुष्ट बनेको स्रोतको दाबी छ । यता तीनै संस्थापन इतर समूहका नेताहरुले गत असोज २७ गते नेकपा एमालेसँग मिलेर प्रदेश सरकारसमेत बनाएका थिए । यी सबै कुरा बुझेका एमाले राप्रपाले सत्तारुढ गठबन्धन दलभित्रको असन्तुष्टिलाई खेलेर फाइदा उठाउने रणनीति बनाएको स्रोतको दाबी छ ।

राष्ट्रिय सभा निर्वाचनको पर्वसन्ध्यामा आफ्नो रणनीति बनाउन र सिटौलालाई लगातार तेस्रोपटक हारको ह्याट्रिक चखाउन एमाले नेताहरु सक्रिय भएका छन् । एमाले अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेलसमेत बुधबार बिहानै कोशी प्रदेश पुगेका छन् ।

एमालेले यसअघि ०७८ को माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा पनि चामत्कारीक परिणाम ल्याएको थियो । सो निर्वाचनमा पनि कोशीबाट आरमदायी बहुमतमा रहेका सत्ता गठबन्धनका उम्मेदवार हेमराज राईलाई हराउँदै एमालेकास सोनाम ग्याल्जे शेर्पा विजयी हुँदा एमालेका अर्का उम्मेदवार गुरु बरालले कांग्रेसका उम्मेदवार गोपाल बस्नेतको जतिनै मत पाएका थिए । जसमा गोलाप्रथा हुँदा उनी पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्