काठमाडौं,१० माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले राजतन्त्रको एजेण्डा राष्ट्रिय सभामा प्रवेश गराउन खोजेको भन्दै आक्रोश पोखेका छन् ।
बुधबार नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विराटनगरमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमालेले राप्रपालाई च्यापेर राष्ट्रिय सभामा राजतन्त्रको एजेण्डा प्रवेश गर्न खाजेको आरोप लगाएका छन् ।
राप्रपाले फागुनबाट राजसंस्था पुनस्र्थापना गर्छु भनेर आन्दोलन घोषणा गरेको भन्दै उनले एमालेलाई प्रश्न गरे, ‘एमाले राप्रपा उम्मेदवार जितोस भन्ने चाहान्छ । एमालेले राजसंस्था पुनस्थापित गर्छु भन्ने व्यक्तिलाई निर्वाचित गराएर त्यो आन्दोलनलाई राष्ट्रिय सभामा प्रवेश गराउन चाहेको हो ।’
परिणाम सत्ता गठबन्धनको पक्षमा आउने दाबी गरेका उनले नैतिक कसीमा चुकेको बताए । एमालेलाई राजनीतिक प्रश्न रहिरहने भन्दै महामन्त्री थापाले भने भने, ‘नैतिक कसीमा नेकपा एमाले पटक-पटक चुकेको छ, फेरि चुक्यो ।’
एमालेले बिहीबार हुने राष्ट्रिय सभा निर्वाचनमा राप्रपासँग कोशी प्रदेशमा तालमेल गरेको छ । एमाले राप्रपाको तालमेलले सत्ता गठबन्धन सशंकित बनेका छन् ।