काठमाडौं,१० माघ । राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
बुधबार कोइरालाले विराटनरस्थित ऐतिहासिक कोइराला निवासमा नेपाली कांग्रेसका नेता कार्यकर्तालाई चियापानमा सरिक गराएका हुन् ।
चियापान कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित मिनेन्द्र रिजाल, खेलकुदमन्त्री डिगबहादुर लिम्बू , सांसद सरिता प्रसाईलगायतका नेताहरु विराटनगर पुगेका थिए । चियापानमा राष्ट्रिय सभाका उम्मेदवार कृष्णप्रसाद सिटौला पनि पुगेका छन् । सामान्यतया राष्ट्रिय सभाको मौन अवधि सुरु भएपछि यसरी निर्वाचनलाई प्रभावित पार्नेगरी भेला हुन र कार्यक्रम गर्न पाईंदैन । तर, निर्वाचन आचारसंहितानै उल्लंघन गरेर कोइरालाले मतदातालाई चियापान गराएका छन् । चियापानमा चिया, कफीसँगै जेरी, पुरी र समोसा रहेको त्यहाँ उपस्थित एक नेताले जनाएका छन् ।
निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट काँग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पा कार्की उम्मेदवार छन् । एमाले र राप्रपा गठबन्धनबाट भने राप्रपाका उद्धव पौडेल र एमालेकी रुक्मिणी कोइराला उम्मेद्वार बनेकी छिन् । एमालेले राप्रपासँग गठबन्धन गरेपछि यसअघि उम्मेदवार बनाइएका पर्शुराम अधिकारीको उम्मेदवारी भने निष्क्रिय गराएको छ ।