Logo

माओवादी नेताको टिप्पणीः ‘प्रचण्ड सरकारका अधिकांश मन्त्री तलबभत्ता पचाउ आन्दोलनमा छन्’



काठमाडौं, ११माघ । नेकपा (माओवादी केन्द) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा अधिकांश मन्त्रीहरु तलबभत्ता पचाउ आन्दोलनमा रहेका टिप्पणी गरेका छन् ।

हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री प्रचण्ड स्वयंले राम्रो काम गरेपनि अधिकांश मन्त्रीहरुले कामै नगरेको उनले बताए ।

प्रचण्ड सरकारमा रहेका मन्त्रीहरुलाई कामका आधारमा विभाजन गर्दै उनले वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिट्यान्स खर्च गरेर विदेशमात्रै गइरहने मन्त्री, युट्युव, फेसबुकका भिडिओ हालेर देश र जनताको हितमा भन्दा पनि नेताहरुको चाकडी गर्ने पत्रकारलाई पछि लगाएर हिँड्ने, टक्कै नबोलेर, कामै नगरेर तलबभत्ता खाएर बस्ने र एक्सन ओरिन्टेड मन्त्रीको रुपमा विभाजन गरे । प्रचण्ड नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुलाई शक्रिय बनाउन आवश्यक रहेको उनले बताए ।

‘प्रधानमन्त्री असाध्यै सक्रिय रुपमा हुनुहुन्छ । केही काम गृहमन्त्रीले पनि राम्रो गर्नु भएको छ । केही काम अरु मन्त्रीहरुले पनि राम्रै गरिराख्नु भएको छ । यी सबै कुरालाई हेर्दा अधिकांश मन्त्री तलबभत्ता पचाउ आन्दोलनमा छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्