काठमाडौं, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले आगामी संसद् अधिवेशनमा सहकारी पीडितहरुले न्याय नपाएका कुराहरु जोडदार रुपमा उठाउने तयारी रहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाले जनताको जनजीविकाका कुराहरुलाई संसद्मा उठाइरहेको र आगामी अधिवेशनमा पनि दह्रो रुपमा उठाउने बताए ।
‘हामी सधैं जनजीविकाका एजेन्डा लिएर उपस्थित भइरहेका छौं । आउने अधिवेशनमा पनि विशेष गरी जनजीविकाका एजेण्डाहरु, विशेष गरी पछिल्लो दिनमा सहकारी पीडित जनताले न्याय नपाएको, संगसँगै अरु पनि थुप्रै क्षेत्रमा विकास निर्माणका आयोजना, राष्ट्रिय गौरवका आयोजनाहरु अवरुद्ध भइरहेका छन् । यिनै एजेण्डाहरु लिएर हामी आगामी अधिवेशनमा दह्रो रुपमा प्रस्तुत हुन्छौं,’– उनले भने ।
पछिल्लो समय गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष गितेन्द्र बाबु राई सहकारी ठगी प्रकरणमा मुछिएका छन् । सोही मिडियाका तत्कालीन सञ्चालकसमेत रहेका लामिछानेलाई पनि सो प्रकरणमा जोडिएर समाचारहरु बाहिर आइरहेका छन् । तर, लामिछानेले भने आफू उक्त सहकारी ठगी प्रकरणमा संलग्न नरहेको र सहकारी पीडितहरुको बचत फिर्ताका लागि आफू फ्रन्ट लाइनमा रहेर काम गर्ने बताउँदै आएका छन् ।
रास्वपा सभापति लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता भएका प्रमाणहरु भए, काहीँ ऋण लिएर तिर्न बाँकी भए, तिनुपर्ने नतिरेको भए तिर्न तयार रहेको र कानुन बमोजिम सजाय भोग्न तयार छु भनेर भनिरहँदा मिडियाहरुले खेदिरहेको भन्दै पराजुलीले आपत्ति जनाए ।
संघीय संसद्को हिउँदे अधिवेशन आगामी माघ २२ गते दिउँसो ४ बजेका लागि आह्वान भएको छ ।