काठमाडौं,११ माघ । राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन्। महिला र दलित, अल्पसंख्यक तथा अपांगता र अन्य क्लष्टरतर्फ सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।
महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनीले ६ हजार ६२२ मतभार सहित विजयी भइन्। उनले नेकपा एमालेकी उम्मेदवार रोचकुमारी चौलागाईंलाई पराजित गरिन्। चौलागाईंले दुई हजार ५५२ मतभार ल्याइन्।
दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भए। उनले ६ हजार ५१२ मतभार प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभार प्राप्त गरे।
अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जितजंग बस्नेत निर्वाचित भए। उनले छ हजार ५३१ मतभार ल्याउँदा नेकपा एमालेका त्रिलोचन निर्मल पौडेलले दुई हजार ३५९ मतभारसहित पराजित भए।
अल्पसंख्यक तथा अपांगतातर्फ नेकपा ९एमाले० का उम्मेदवार विवेक देवकोटा पराजित गर्दै माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित भए। अधिकारीले ६ हजार ४३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी देवकोटाले दुई हजार ७३४ मत ल्याए।
राष्ट्रिय सभाका १९ सिटका लागि आज निर्वाचन भएको हो । सातै प्रदेशमा भएको मतदानको परीणाम आउनेक्रम जारी रहेको छ ।
हेटौंडामा सम्पन्न मतदानमा कुल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका थिए । स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका छन भने ११० प्रदेशसभा सदस्यमध्ये १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका थिए ।